काेराेनाकाे कहरमा ठमेल : पर्यटक आवागमन नभएसम्म पुर्नजीवन पाउन कठिन

उपेन्द्र शाही
२६ पुष २०७७ ८:१०

काठमाडाैं। पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भयको महशुस गर्दै सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नीति अपनायो। १२ लाख पर्यटक आउँदा पनि व्यवसाय राम्रो चलिरहेको अवस्थामा २० लाख पर्यटक ल्याउने सरकारको नीतिले व्यवसायीलाई झनै हौसायो।

नयाँ व्यवसायी पनि धमाधम पर्यटन तिर सोझिए। तर, कहिल्यै नसोचेको कोरोना महामारी विपत्तिको रुपमा आइलाग्यो। कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले औपचारिक सुरुवात भएको डेढ महिना पछि नै भ्रमण वर्ष २०२० स्थगित ग-याे।

विदेशी पर्यटकमा निर्भर ठमेलका ट्राभल, टेर्किङ, होटेल, गेष्ट हाउस, अपार्टमेन्ट, रेस्टुरेन्ट, क्लब, पश्चमिना, कपडा पसल, पर्यटन यातायात लगायत व्यवसाय एकै पटक बन्द गर्नु पर्ने स्थिति आयो। केही समय पछि समस्या सहज हुने आशामा आज, भोलि र पर्सी गरी व्यवसायीहरु दिन गन्दै बसे। तर, महिनौँ बित्दा पनि भाइरसको जोखिम कम भएन। झन् झन् बढ्न थाल्यो।

राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार पर्यटन व्यवसाय अहिले समस्या नै समस्याले पिरोलिरहेको छ। मुलुकको प्रमुख पर्यटन हब ठमेल यतिखेर सुनसान जस्तै छ। काठमाडौं उपत्यका बाहिर पर्यटनको फाट्टफुट्ट चहल पहल भएपनि ठमेलको पर्यटन व्यवसाय निरन्तर ओरालो लागिरहेको छ। ठमेल लामो समय लकडाउनले पिरोलियो। अहिले लकडाउन खुलेको छ।

तर, यहाँको व्यवसायमा खासै परिवर्तन आएको छैन। अझै ठमेलका आधाभन्दा बढी सटर बन्द छन। खुलेका होटेल, रेष्टुरेन्ट, पसलमा पनि ग्राहक छैनन्। कर्मचारी तथा व्यवसायीहरु गफिएर बसेको देखिन्छ।

विदेशी पर्यटनमा अडिएको ठमेलको पर्यटन व्यवसायले पर्यटक आवामन नभएसम्म पुर्नजीवन पाउन निकै कठिन देखिन्छ। कोरोना महामारीले ताल्चा लागेका ठमेलका व्यावसायका ढोका त खुलेका छन् तर, यो बीचमा ठमेलको मुहार धेरै हदसम्म परिर्वतन भइसकेको छ।

दशकौँ पुराना धरै व्यवसायी पलायन भइसकेका छन्। कोही पर्ख र हेरको स्थितिमा छन्। यस्तै कोही पर्यटक आउलान की भन्ने आसमा देखिन्छन त कोही भने बाध्यताले न त पलायन न त व्यवसाय सञ्चालन गर्न सक्ने स्थितिमा छन्।

लामो समयदेखि व्यापार व्यवसाय ठप्प भएको र खुले पनि व्यापार नभयपछि ठमेलका व्यवसायीहरु धमाधम खाली हुन थालेको बताउँछन् पर्यटन व्यवसायी लिलाबल्लभ दाहाल। ‘यसै पनि चर्को भाडा, त्यसमाथि व्यापार नहुँदा पनि पुरै भाडा तिर्नुपर्ने भएपछि धेरै व्यवसायी व्यवसाय बन्द गर्ने मुडमा पुगेका छन्। उनले भने विदेशी पर्यटक नआउने भएपछि ठमेल खुले पनि नखुले जस्तै छ। आम्दानी शून्य भयपछि बैंकको कर्जा, घर भाडा, कर्मचारीको तनाखा दिन धेरै गाह्रो परिरहेको छ। मरो जीवन जीवन नै पर्यटन क्षेत्रमा लगाएको छु, करोडौँ लगानी छ। यस्तो अवस्थामा म कसरी ठमेल छोड्नु नछोडौँ भने ठूलो संकट छ,” उनले भने।

सरकारले पर्यटन व्यवसायीलाई उपेक्षा गर्न नहुने भन्दै उनले अब सफ्ट लोनमार्फत सरकारले सानादेखि मझौला र ठूला सबै व्यवसायीलाई सम्बोधन गर्नु पर्ने बताए।

“जुन दिनबाट बाह्य पर्यटक आगमन हुन्छ, इन्टरनेशनल फ्लाइट खुल्छन्, तव मात्र केही होला कि। मुख्य सिजन गइसक्यो अब मार्चमा अलिकति पर्यटक आँउछन कि भन्ने आशमा छु” उनले भने।

उनले ठमेल पर्यटन परिषदको पहलमा करिव ८० प्रतिशत घरधनीले व्यवसायीलाई ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिएको बताएर तर, कोही कोहीले भने छुट दिन नमानेकोले व्यवसायीहरु पलायन हुनेक्रम बढिरहेका उनको भनाइ छ।

यस्तै नयाँ किसीमले नेपालीलाई आर्कषण गर्ने गरी कतै मेन्यू परिर्वतन भइरहेको देखिन्छ भने कतै ५०/६० प्रतिशत अफर राखेर सेलमा पसल सञ्चालन भइरहेका छन्।

अब पनि हामीलाई सरकारले केही गर्न सक्दैन भने हामीबाट पनि केही नमागोस्। पाँच वर्षको लागि हामीलाई फिरी छोड्दिनु पर्यो। सरकारले हामीलाई केही पनि दिनु पर्दैन्। हामी केही माग्दा पनि माग्दैनौँ

नेपालको रात्रीकालीन व्यवसाय नेपालीमा नै निर्भर भयकोले क्लवमा चहल पहल राम्रो भयको उनको भनाइ छ। नेपालको पर्यटन क्षेत्रमा देशभरि गरी खर्बौको लगानी छ। उनले भने, “समग्रमा यो क्षेत्रले अहिलेसम्म १२ अर्बसम्म घाटा व्यहोरिसकेको छ। सरकारले उपेक्षा गरेको जस्तै देखियो। बनाएको नीति नियमले असली व्यवसायीलाई छुन सकेको छैन।”

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान)का महासचिव एकराज अधिकारीका अनुसार ठमेलमा मात्रै करिव १० हजार पर्यटन व्यवसायी छन्। ठमेलमा नेपालकै महंगो भाडा छ। केही घरधनीले ३० देखि ७० प्रतिशतसम्म भाडामा छुट दिए, कसैले दिएनन्। उनले भने “कमाइ नहुने तर, खर्च बढिरहने भन्दै ठमेलमा पसल, अफिस, रेष्टुरेन्ट बन्द हुने क्रम रोकिएको छैन। अहिलेको अवस्थामा करिव ३० देखि ३५ प्रतिशत व्यवसायीले सदाका लागि व्यवसाय नै बन्द गरेको अवस्था छ।”

नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन् र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन्। ठमेलको व्यापार पूर्ण रूपमा पर्यटनमा आधारित छ।

ठमेलमा शून्य समय नै छ। चैतमा जे थियो पुस माघमा पनि स्थिति उस्तै छ। उनले भने, “ हाम्रो सिजन मार्च, अप्रिल, गइसक्यो। जुन जुलाई हाम्रो अफ सिजन हो। सेम्टेम्बर अक्टोबर नोभेम्बर पनि हाम्रो गयो। त्यस्तै अब आउने मार्च, अप्रिल, मे मा पनि पर्यटक आउनेमा हामी त्यति आशावादी छैनौँ। १२ महिना भइसक्यो अब आउने सिजन पनि त्यतिकै गयो भने १६ महिना व्यापार हुँदैन। तीन वटा सिजन व्यापार नहुनु भनेको पर्यटन क्षेत्रमा धेरै ठूलो पहिरो गएको मान्नु पर्छ। हामी अलमोस्ट डुबिसक्यौँ।”

“सरकार हामीलाई न बोलाउँछ न आउँछ,’ उनले भने, “समुन्द्रमा हाम फाल्यौँ, हात मात्रै बाँकी छ, माझी दाइसँग साहारा मागेका छौँ। हामीलाई माझी दाइले बचायो भने बचायो नभए हामीलाई माछाले खाएर मार्छ। हामी डुव्न चाहान्नौँ उत्रिन पनि सक्दैनौँ।”

“सन् २०२० मा २० लाख पर्यटक ल्याउन तपाईँ हामीलाई सहयोग गर्नुहोस भन्दै सरकारले हामीलाई आह्वान गर्यो। त्यही अनुसार हामीले भएभरको जायजेथा राखेर लगानी गर्याैं तर, अहिले हामीसँग केही छैन। जायजेथा राखेको बैंकले अहिले हामीलाई बारम्बार ताकेता गरिरहेको छ। अहिले त्यही बैँकले हामीलाई यो तिर उ तिर होइन भने पेनाल्टी लगाउँछु भनि रहेको छ,’ उनले भने।

सरकारले तत्काल सफ्ट लोन मार्फत व्यवसायीलाई पुर्नउत्थान गर्न सहयोग गर्नुपर्ने बतउँदै उनले नभय नेपालको पर्यटन क्षेत्रमा धेरै ठूलो भुँइचालो जाने सम्भावना रहेको बताए।

विगत ३३ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल भन्छन्, “१० महिनादेखि होटेल बन्द छन्। पहुँच भएका केही होटेलले लकडाउनको समयमा क्वारेन्टाइन बनाएर अलिकति राहत पाए तर ९५ प्रतिशत व्यवसायीले त्यही पनि पाएनन्। धेरै होटेल व्यवसायी पलाएन भइसके। केही जाने तयारीमा छन्।’

‘यत्रो वर्ष नेपालकै पर्यटन उत्थानमा सहयोग गर्यौं तर सरकारले एउटा लोन लिने बाटो पनि खोल्न सकेन। लोन उपलब्ध गराउन सकेन,’ उनले भने “मैले ११ वर्ष भयो होटेल सञ्चालन गरेको आजसम्म हामीले सरकारलाई विभिन्न शिर्षकमा कर बुझाउँदै आएका छौँ। तर, हामीलाई समस्या पर्दा सरकारले केही गर्न सकेको छैन।’

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ ।

“पुर्नकर्जाको प्रक्रिया एकदमै झन्झटिलो छ। बैंकमा गयो भने बैंकले यो वर्षको आयस्रोत माग्छ। यो वर्षको आयस्रोत त हाम्रो माइनसमा छ। त्यसपछि बैंकले पत्याउँदैन यसले हामीलाई निरुत्साहित गरिरहेको छ,’ उनले भने।” ‘आजसम्म घरबेटी र कर्मचारीहरुका खुट्टा समाउँदै, हात जोड्दै, लखर लखर गर्दै यहाँसम्म आयका छौँ, अब कति जोड्ने? उनीहरुको पनि त जीवन गुजाराको समस्या छ।”

‘३२ वर्षदेखि यही व्यावसायमा सक्रिय छु,’ अहिले आएर अकस्मात अरु व्यवसायमा पलायन हुन पनि नसकिने अवस्था छ।
सरकारले सफ्ट लोन मात्र दियको भय केही मात्रामा भय पनि सास फेर्न सहज हुने उनको भनाइ छ।

महामारीले र्सिजित आर्थिक संकटबाट मानसिक तनाव पनि हुन थालेको व्यवसायी बताउँछन्। ‘घर भाडा, सरकारलाई कर, बैंकको व्याज, विजुली बत्ती, कर्मचारीको तलव गर्दा समस्या नै समस्या छ,’ रेबानका पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले भने, “अब पनि हामीलाई सरकारले केही गर्न सक्दैन भने हामीबाट पनि केही नमागोस्। पाँच वर्षको लागि हामीलाई फेरि छोड्दिनु पर्यो। सरकारले हामीलाई केही पनि दिनु पर्दैन्। हामी केही माग्दा पनि माग्दैनौँ।”

‘हामी व्यवसायी हौं,’ उनले भने, “सरकारले केही गर्दिन्छ कि भन्ने अपेक्षा चाहिं कमै हुन्छ। तर, सरकार भनेको हाम्रो अभिभावक हो। संकटमा परेका व्यवसायलाई उकास्ने जिम्मेवारी राज्यको हो। हामीले भन्न पाउने अधिकार छ। यतिका वर्ष हामीले राज्यलाई कर बुझायौँ। खोइ अहिले कहाँ छ राज्य?’  प्रश्न गर्दै उनले सरकार कुहिरोमा हरायको काग जस्तो भएको बताए।

पर्यटन व्यवसायीले लागानी मात्रै नभयर नाफा पनि एकैसाथ गुमाउने भयकोले यो व्यवसायमा २ सय प्रतिशत घाटा भइरहेको उनको भनाइ छ।
सरकारले यो बीचको अवधिमा २८ सय उद्योगलाई कालो सूचीमा राखीसकेको बताउँदै उनले यहींबाट पनि साना तथा मझौला उद्योगको अवस्था अत्यन्तै तनावमा बितिरहेको ठम्याउन सकिने बताए।

उनले भने “सरकारले पर्यटन व्यवसायी प्रति अलिकति पनि मानवीय समवेदना देखायन र छ जस्तो पनि लाग्दैन। हामीलाई यतिखेर सफ्ट लोनको मात्रै व्यवस्था गरिदिने हो भने पनि हामीले घरभाडा र कर्मचारीलाई तलव दिन सक्थ्यौँ। त्यसले कसैको चुलो बल्न त मद्दत गर्ला।”

विगत १० वर्षदेखि पश्चमिना पसल सञ्चालन गर्दै आयका पर्यटन व्यवसायी कितृज्ञ बहादुर पाण्डेले हाल व्यापार जिरो जस्तै रहेको बताए। एनले भने,  “टुरिष्ट छैन, हाम्रो व्यापार पनि छैन्। घरमा बस्न दिक्क लाग्यो त्यही भएर पसलमा आयर घाम ताप्दै बसिरहेका छाैं। पसलमा १२ लाख सम्मको लगानी छ। स्थिति सामान्य भएको समयमा मासिक १ डेढ लाख सम्मको व्यापार हुन्थ्यो तर, अहिले मासिक १० हजार पनि व्यापार छैन्। बरु मासिक ५० ६० हजार खर्च छ। अब खोप पनि बनेको छ। यो प्रभावकारी भयो भने पर्यटकको आगमन बढ्ला कि।”

लाखौं मजदुरको विपत्ति

नेपालको पर्यटन क्षेत्रमा करिव १० लाख कामदारले काम गरिरहेका छन्। हाल यो क्षेत्रमा मुस्किलले १ लाख कामदार मात्रै कार्यरत रहेको रेबानका महासचिव यकराज अधिकारीले बताए।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभावका कारण पर्यटन क्षेत्र निकै प्रभावित बनेकोले यो क्षेत्रमा कार्यरत मजदुरहरुको चुलो बाल्न धौ धौ परेको छ।

“करियर बनाउँछु भनेर होटेलको सेफ बने, पढाई, लेखाई जे भने पनि त्यही सेफ हो। कोरोना भाइरसको महमारीका कारण लामो समय काम गर्ने ठाउँ बन्द रह्यो। अहिले आयर खुलेको छ तर, सेवा सुविधा थोरै छ। खाइ पाइ आएको तलव सेवा सुविधा सबै चौपट छ। अरु नयाँ पेसा आगांलौ भने शून्यदेखि सुरु गर्नु पर्छ। अकस्मात नयाँ पेशा सुरु गरेर कमाइ धमाइ गर्ने अवस्था पनि छैन्। अहिले आयर आफ्नो पेशा नै धरापमा परेको छ।

घर भाडा, कोठा खर्च, बच्चाको स्कुल खर्च पुर्याउन हम्मे हम्मे छ। न घरबेटीले भाडा छुट गरेको छ न बच्चाको फि स्कुलले। पैसा आउने स्रोत छैन तर, पैसा बुझाउने ठाउँ धेरै छन्। यस्तै हो भने कुनै दिन भोकै बस्नु पर्ने दिन नआउँला भन्न सकिन्न। दैनिकी गुजारा गर्न ठुलो समस्या छ। महामारी प्रभावको असर कहिलेसम्म भन्ने अनिश्चित छ। सरकारको प्राथामिकतामा हामी श्रमजीवि वर्ग परेको देखिदैन बरु बेमौसमको चुनावमा सरकार अनावश्यक पैसा खर्च गर्दैछ।”

यो व्यथा हो, विगत २५ वर्षदेखी होटेल लाइनमा सेफको काम गर्दै आयका रोहिनी अर्यालको । हाल पर्यटनमा काम गर्दै आयका लाखौँ पर्यटकको कथा व्यथा यस्तै छ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ।

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ ।

सबै तस्वीर : फुर्पा शेर्पा / डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *