सरकारले दिएको सुविधा प्रयोग गर्दैनन् सेवाग्राही, श्रम स्वीकृतिको लागि फारम भर्नेको भिड

डिसी नेपाल
२८ पुष २०७७ १३:४२
168
Shares

काठमाडौं। कोरोना–१९ पछि सरकारले यही पुस १७ गतेदेखि अनलाइन माध्यमबाट पुनःश्रम स्वीकृति दिने व्यवस्था गरेपनि ताहचलस्थित वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिको लागि फारम भर्नेको संख्या भने उल्लेख्य मात्रामा रहेको छ।

कार्यालय धाउनै पर्ने र दालाललाई बढी पैसा तिररे काम गराउनु पर्ने वाध्यता आदिलाई मध्यनजर गर्दै सर्वसाधारणका लागि गरिएको उक्त अनलाइन व्यवस्थाप्रति प्रायजसो वैदेशिक रोजगारीमा जाने व्यक्ति अन्योलमा परेका छन्। जसले गर्दा उनीहरु श्रम स्वीकृतिको लागि अरुकै भर पर्ने र कार्यालय धाउने गरिराखेका छन्।

तिनै धाउने व्यक्तिहरुलाई पछ्याउदै फारम भर्ने हो भन्दै पछिपछि लाग्ने एक जना व्यक्तिलाई डिसी नेपालले ‘अनलाइनबाट घरमै बसीबसी जो कोहिले फारम भर्न सकिहाल्छन् नि, किन अझै तपाईँहरु कै भर पर्नु पर्छ र?’, भनेर सोध्दा उनले भने, ‘पुनःश्रम स्वीकृतिको फारम भर्न नजानेरै यिनीहरु यहाँ आएका हुन्। फारम भरेपनि बुझाउन त यहाँ आउनु पर्यो नि। सबै पढेकै मान्छे मात्रै विदेश जान्छ र? पढ्नेलाई पनि अलिअलि मात्र थाहा छ र जान्नेले पनि अलिकति गल्ती गर्यो भने बैंकले पैसा फिर्ता दिदैन्। त्यसैले यहीँ फर्म भर्न आउँछन्।’

हातमा श्रम स्वीकृतिको फारम बोकी लाइनमा बसेका चितवनका सुजन मिजार भन्छन्, ‘अनलाइन फर्म भर्न आफू बसेकै ठाउँबाट हुन्छ त भन्छन् तर एउटा कुरा मिलेन भने फेरि यहाँ आउनु पर्छ। त्यसैले मान्छेले जोखिम लिन चाहँदैन। यहाँ भएका अनआइन फर्म भर्ने एजेन्सीहरुले नै फर्म भरिदिन्छन्। र, मैले पनि उनीहरुबाटै फारम भरेको हुँ। फारम भर्दा बैंक प्रोसेस, इन्स्युरेन्स आदि गरेरे ६ हजार सात सय तिरे पुग्छ।’

साउदीस्थित सुपरमार्केटको क्यासियरमा १० वर्षदेखि काम गर्दै आएको र १५ दिनको छुट्टीमा एक महिनाअघि नेपाल आएको बताउने मिजारले भने, ‘समय सकिएकाले श्रम गरिराख्यो भने ढुक्क हुन्छ भनेर आएको हुँ। पहिले यहाँ श्रम स्वीकृतिको लागि बिहान लाइन बस्यो भने बेलुका ४/५ बजेसम्म लाग्थ्यो। अनलाइन श्रम स्वीकृति र प्रदेशवाइज गरिदिएर होला अहिले त्यस्तो छैन।’

साउदीबाट छुट्टीमा नेपाल आएको बताउने झापाका मेहमद अश्रपले भने, ‘मैले विराटनगरबाट अनलाइन फर्म भरेर यहाँ महर (भेरिफाई गर्न) लगाउन आएको। अनलाइनबाट भर्न त जान्ने मान्छेले गर्छ, हामीले त जानेको छैन, पैसा तिरेरै गर्नु पर्यो नि। साउदीमा पानीको कम्पनीमा काम गरेको नौ वर्ष भयो।’

त्यसैगरी, लाइनमा बसिराखेका दार्चुलाका रामसिंह धामीले भने आफैंले अनलाइन फारम भरेका रहेछन्। उनले भने, ‘यूएई अबुधाबी जान लागेको हुँ। सात वर्ष भयो काम गरेको, प्रत्येक वर्ष प्रायजसो नेपाल आइराख्छु। म पनि तीन/चार दिन भयो यहाँ आएको। मेरो त खासमा प्रक्रिया नपुगेर पनि ढिलो भएको हो। तीन/चार दिनदेखि लाईन बस्न आइसके। यहाँ सर्भर गयो, नेट गयो भन्ने कुरा धेरै सुनिन्छ।’

टिकटदेखि फारम भर्नेहरुले लिने चार्जमा सर्वसाधारण ठगिएको गुनासो गर्दै धामीले भने, ‘टिकटमा १० रुपैयाँ लेखेको छ, त्यहाँ किन्न जानुस् २० रुपैयाँ लिन्छन्। कि त टिकटमा २० रुपैयाँ लेख्न लगाउनु पर्यो नत्र भने जति भन्यो त्यतिमा दिनु पर्यो। रिचार्ज कार्डमा सय लेखेको छ भने हामीले सय नै तिर्छौ नि। हो त्यस्तै हुनु पर्यो। चाहिने भन्दा बढि पैसा लिएकाले मैले दुई वर्ष अघि फर्म भर्ने मान्छेलाई रिट हालेर पुलिस कार्यालयभित्र हालिदिएको थिए। हाम्रो लाग्ने लगानीभन्दा उनीहरुले हजार/दुई हजार बढी लिन्छन्। आउआउ भनेर फारम भर्न तान्नेवाला मान्छेले अहिले ५५ सय लिनुपर्ने ठाउँमा ७५ सय लिइराखेका छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *