माघे सङ्क्रान्ति मेलाः सुनसान रिडी

रासस
१ माघ २०७७ १७:१४

गुल्मी । कोभिड– १९ जोखिमका कारण गुल्मीको पवित्र धार्मिकस्थल रिडीमा यस वर्ष माघी मेला नहुँदा सुनसान भएको छ । माघे सङ्क्रान्तिमा स्थानीय पालिका र क्लबको आयोजनामा वर्षौदेखि आयोजना गरिँदै आएको मेला यस पटक गाउँपालिकाले सञ्चालन नगर्ने निर्णय गरेको रुरक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिए ।

धार्मिक क्षेत्र रिडिमा माघे सङ्क्रान्तीको अवसरमा विगतका वर्षमा बिहानैदेखि कालीगण्डकीमा नुहाउन आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दथ्यो । तर, यस पटक भने मेला नलाग्ने भएपछि कालीगण्डकी तटीय क्षेत्र सुनसान बनेको छ । विगतमा गण्डकीमा स्नान गर्नका लागि गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडि क्षेत्रको कालीगण्डकीमा माघे सङ्क्रान्तीमा स्नान गर्न र पूजाआजाका लागि श्रद्धालुको घुइँचो लाग्ने गर्दथ्यो ।

चारधाममध्येको एक प्रमुख धाम मानिने रुरु क्षेत्रको कालीगण्डकीमा माघे सङ्क्रान्तिका दिन स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसले आफूले अन्जानमा गरेका सम्पूर्ण पापबाट मुक्त भई मोक्ष प्राप्त हुने किंबदन्ती छ । विशेषगरी माघे सङ्क्रान्तिका दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा रिषि ऋणसमेत मुक्ति पाइने धार्मिक विश्वासका कारण हजारौं मानिस यस अवसरमा रिडि क्षेत्रधाममा आउने गर्छन् । गुल्मीमा माघे सङ्क्रान्तिको अवसरमा पाँच दिनसम्म ठूलो मेलासमेत लाग्ने गर्दथ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *