नेकपा (प्रचण्ड–माधव) समूहले ओली समूहमा लागेकालाई हटाउँदै नयाँलाई जिम्मेवारी दिने

डिसी नेपाल
१ माघ २०७७ १९:१२

काठमाडौं। सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजन भएको छैन, तर दुई समूह स्पष्ट रुपमा क्रियाशील छन्। अहिलेसम्म दुबै समूहले फरक फरक स्थापनमा फरक फरक कमिटीको बैठक गर्दै आए पनि सबै नेताहरु दुबै समूहको कमिटीमा छन्।

तर, अब पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहमा रहेका नेताहरुलाई हटाउँदै नयाँलाई जिम्मेवारी दिने तयारी गरेको छ।

प्रचण्ड–माधव समूहको बिहीबार बसेको बैठकले अर्को समूहमा लागेका नेताहरुलाई हटाउँदै नयाँ नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। उनले भने, ‘एकीकरणको काम सक्ने भन्ने निर्णय भएको छ। केहीलाई हटाउने र केहीलाई जिम्मेवारी दिने निर्णय भएको छ। खासमा एकीकरणको काम गर्ने भन्ने हो। त्यसका लागि मापदण्ड पनि बनाउने भन्ने छ।’

तत्कालिन नेकपाको सचिवालयमा रहेका ९ जना मध्ये प्रचण्ड–माधव समूहमा ४ जना छन् भने ओली समूहमा पनि ४ जना छन्। र उपाध्यक्ष वामदेव गौतम भने कतै लागेका छैनन्। यसैगरी महासचिब विष्णु पौडेल ओली समूहमा छन्। त्यसैले प्रचण्ड–माधव समूहले नयाँ महासचिब बनाउने तयारी गरेको छ।

यस्तै स्थायी कमिटीमा पनि केही सदस्यहरु ओलीतर्फ र केही सदस्यहरु अर्को समूहमा छन्। प्रदेश कमिटी, जिल्ला कमिटीहरुका अध्यक्ष र सचिवहरु पनि फरक फरक गुटमा लागेका छन्। ओली समूहले त केही जिल्लाहरुमा जिल्ला कमिटीको पुनःगठनसमेत गरिसकेको छ। अब प्रचण्ड–माधव समूहले पनि अध्यक्ष र सचिव अर्को समूहमा लागेका जिल्लाहरुमा पुनःगठन गर्ने भएको छ।

दुबै समूहले प्रदेश इन्चार्जहरु भने यसअघि नै परिवर्तन गरिसकेका छन्। प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै रिक्त अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरिसकेको छ। तर, अहिलेसम्म पार्टीबाट हटाएको छैन। तर, अब भने ओलीलाई पार्टीबाटै हटाउने तयारी भएको जनाइएको छ।

बिहीबारको बैठकमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा जारी मुद्दाबारे र पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगमा भइरहेको कामबारे पनि छलफल भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *