पर्यटनमन्त्रीद्वारा पोखरा विमानस्थलकाे निरीक्षण

रासस
१ माघ २०७७ २१:२२

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । विमानस्थलको रनवे, टर्मिनल भवनसहित निर्माणाधीन १४ भवन, ट्याक्सी पार्किङलगायतका संरचना तथा हालसम्मको प्रगतिका बारेमा उनले जानकारी लिएका थिए ।

विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, निर्माणमा विद्यमान समस्यालगायतका बारेमा मन्त्री ढकाललाई जानकारी गराएका थिए । आयोजनाका अनुसार हालसम्म विमानस्थलको ७० प्रतिशत भौतिक तथा ५० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

सो अवसरमा मन्त्री ढकालले पर्यटनमन्त्री भएपछि आफू लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन भ्रमणका लागि पोखरा आएको बताउँदै पोखरा विमानस्थल यथाशक्य छिटो सञ्चालमा ल्याउने सरकारको योजना रहेको बताए ।

हालसम्मको कामको प्रगति तुलनात्मक रुपमा उत्साहजन रहेको बताउँदै उनले निर्धारित समयभित्र सम्पन्न गर्ने योजना रहे पनि धेरै विलम्ब नहोस् भनेर सचेत रहेको उल्लेख गरे । सरकार भैरहवा र पोखरा विमानस्थलाई छिटो सञ्चालन गर्न सकियोस् भनेर केन्द्रीकृत रुपमा लागको मन्त्री ढकालले जानकारी दिए ।

उनले भने, “राज्यका तर्फबाट ध्यान नपुगेका कारणले विलम्ब भएको कुरालाई यथाशीघ्र समस्या हटाउन पहल गरिने छ, यससँगै जोडिएका अन्य विषयलाई समेत समयक्रममा आफ्नो पहलबाट सम्भव भएसम्म निर्धारित समयभित्र प्रयोगका लागि हामी लाग्छौँ ।” मन्त्री ढकालले विमानस्थल निर्माण कम्पनीलाई आयोजना कार्यान्वयन गर्नका लागि प्रेरित र सहजीकरण गर्ने तथा राज्यका तर्फबाट अप्ठ्यारो भएको छ भने त्यसलाई समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले निर्धारित मिति सन् २०२१ जुन १० भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । उनका अनुसार आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ ।

त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटीसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रीट संरचनाको काम सकिएर डेकोरेसन तथा फिनिसिङ भइरहेको र विदेशी कामदार आएलगत्तै उपकरण जडानको काम शुरु हुने स्पष्ट पारे । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान, हालको ल्याण्डफिल्ड साइट स्थानान्तरण, आयल निगमको इन्धन डिपोको व्यवस्थापनलगायतका केही समस्या अझै पनि हट्न नसकेका तर्फ आयोजना प्रमुख मुनंकर्मीले मन्त्री ढकालको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *