१० लाख कोरोना भ्याक्सिन लिएर काठमाडौंका लागि उड्यो एयर इण्डियाको जहाज

डिसी नेपाल
८ माघ २०७७ १०:१७

काठमाडौं। नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप लिएर एयर इण्डियाको जहाज काठमाडौंका लागि उडेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै नेपालको लागि कन्साइनमेन्ट लिएर जहाज उडेको जनाएका हुन् । पहिलो चरणमा आएको यो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ।

नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपंक्तितमा खटिनेलाई उपलब्ध गराइनेछ। भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिएका थिए । उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ। पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ।

पहिलो चरणमा आएको खोप न्यायपूर्णरूपमा वितरण हुने भन्दै खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेकाले समस्या नहुने मन्त्रालयले जनाएको छ। प्राथमिकताअनुसार खोप वितरण हुने मन्त्रालयले जनाएको छ। यसअघि औषधि व्यवस्था विभागले नेपालमा यो खोप आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ। खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

अहिले नेपाल ल्याइएको खोप अक्सफोर्ड विश्वविद्यालयले स्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिशिल्ड खोप हो । कोरोनाविरुद्धको खोप कोभिशिल्डमा पाइने पदार्थबाट पहिलादेखि नै एलर्जी हुने समस्या छ भने त्यस्ता व्यक्तिलाई कोरोनाको खोप लगाउन हुँदैन। कोभिशिल्डमा एल हिस्टिडाइन, एल हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिसोडियम एडिटेट डाइहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाड्रेट, पोलिसाबेट ८०, इथानोल, सुकरोज, सोडियम क्लोराइड र सुईका लागि पानी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *