नेपाल र इजरायल सरकारबीच श्रम सम्झौता : सुरुवातमा ५०० कामदार लैजाने

तर्कबहादुर थापा
८ माघ २०७७ १४:२२

काठमाडौं। नेपाल र इजराइल सरकारबीच श्रम सम्झौता भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि इजराएली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

कार्यक्रमा श्रम रोजगारत तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले सम्झौताले नेपाल र इजरायलबीचको मैत्रिपूर्ण सम्बन्धलाई झन नयाँ उचाईमा लैजाने बताए। उनले भविष्यमा नेपाल र इजरायले अझै मैत्रीपूर्ण सम्बन्धमा उचाई पाओस भन्ने अपेक्षा गरेको पनि बताए।

केयर गिभर र नर्सिङ पेशाका लागि नेपालबाट दक्ष कामदार लैजान इजरायलले देखाएको इच्छा र नेपालमा बढ्दो बैदेशिक रोजगारीको आकांक्षा पूरा गर्न सरकारले सम्झौता गरेको मन्त्री चौधरीको भनाइ थियो।

उनले नेपाली कामदारलाई इजरायल सरकारले आफ्नै नागरिक जस्तो व्यवहार गरोस भन्ने अपेक्षा राखेको समेत बताए। उनले भने, ‘महामहिमहरुको प्रयासले यो कार्य सम्पन्न भएको छ। म अझै पनि अपेक्षा राख्छु कि इजरायलले नेपाली कामदारलाई पनि आफ्नै नागरिक जस्तौ व्यवहार गरोस्। नागरिक समान काम र ज्यालाको बन्दोबस्त गरोस।’

कार्यक्रममा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्दै बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले नेपाल र इजरायलबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। ‘म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, मन्त्री, मन्त्रालय र सचिवज्यूलाई जसले यो कार्य गर्नमा सहयोग गर्नु भयो,’ दाहालले भने।

उनले नेपाली दाजुभाइ, दिदीबहिनीले इजरायलमा गएर नर्सिङ र केयर गिभरमा काम गर्न पाउने बताए। ‘म यो प्रतिद्धता व्यक्त गर्न चाहन्छु कि नेपालबाट कामको शिलशिलामा इजरायल जाने कसैले पनि कुनै पनि शंकास्पद गतिविधि गर्ने छैनन्। नेपालको कानुनले निर्देशित गरेको कार्य गर्ने छन। दुईदेशबीच भएको सम्झौताको उलंघन गरिने छैन।’

नेपालीहरु खुल्ला हृदयका हुन्छन्

नेपालका लागि इजराइलका राजदूत हानन गोडेरले नेपाली कामदारलाई इजरायली नागरिक सरह व्यवहार गरिने बताए। उनले भने, ‘मेरो छोरी यूनिभरर्सिटी पढ्दै छिन। उनले र नेपालीले पाउने तलब एउटै छ। उनलाई र नेपाली कामदारलाई गरिने व्यबहार एउटै छ। कुनै भिन्नता हुँदैन। समान व्यहार हुन्छ।’

नेपालबाट जाने कामदारले पनि इजरायली नागरिक सरहको व्यवहार पाउने राजदूत हनानले बताए। उनले भने, ‘खुल्ला हृदयको हुनु र मिलनसार हुनु त्यति सजिलो कार्य होइन। मलाई थाहा छ। नेपालीहरु मिलनसार र खुल्ला हृदयका हुन्छन्। यो पनि एउटा कारण हो इजरायलले नेपाली कामदार लैजाने।’

इजरायल सरकारले पहिलो पटक ५ सय जनालाई लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। राजदूत हनानले नेपालबाट लैजाने कामदारलाई आफ्नै परिवार सम्झेको समेत बताएका छन। नेपालबाट जाने दक्ष कामदारले नर्सिङ र केयर गिभरमा काम गर्न पाउने छन्।

गत असोज ६ गते बसेको मन्त्री परिषद बैठकले नेपालीको आकर्षक रोजगारको गन्तव्यका रुपमा मानिएको इजरायलसँग श्रम सम्झौता गर्न सरकारले इजरायलका लागि नेपाली राजदूत अन्जना शाक्यलाई अख्तियारी दिने निर्णय गरेको थियो।

असोज १४ गते श्रम सम्झौता हुने भनिए पनि कोरोनाका कारण हुन सकेको थिएन। नेपालले सरकारी सयन्त्रमार्फत इजरायल रोजगारीमा पठाउने गरी हस्ताक्षर भएको हो। अब सरकारी सयन्त्रमार्फत नेपाली कामदार केयर गिभर र नर्सिङ पेशामा नेपालीले रोजगारीका लागि इजरायल जान पाउने भएका छन्।

नेपाल सरकार र इजरायल सरकाबीच २०७२ सालको साउनमा पनि केयर गिभरको लागि नेपाली श्रमिक आपुर्ति गर्ने विषयमा सम्झौता भएको थियो। पारिश्रमिक र सुरक्षाका हिसाबले निकै आकर्षका मानिएको इजरायलसँगको सम्झौता ५ वर्ष नहुँदै बन्द भएको थियो।

सम्झौता भएपछि ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषहरु केयर गिभरको रोजगारीमा जाने सम्झौता भएको थियो। २०७४ सालपछि इजरायलबाट कामदारको लागि माग आएको थिएन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *