राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा
File Photo: ANFA
पोखरा । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि बिहिबार साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ ।
पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल सङ्घका पदाधिकारीले स्वागत गरे । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिए । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहेका छन् ।
विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ ।
No ads found for this position



Facebook Comment