ठडिँदै छन् सम्पदा : काष्ठमण्डपकाे पुर्ननिर्माण ८० प्रतिशत सकियाे

उपेन्द्र शाही
९ माघ २०७७ ८:२४

काठमाडाैं। हनुमान ढोका क्षेत्र काठमाडौंको बसन्तपुरमा पर्दछ। नेपाली कलाको विशिष्ट नमूनाको रुपमा रहेको यो प्राकृतिक क्षेत्रमा अनेक प्रकारका कलाकृतिका नमूना देख्न सकिन्छ। कलाकृतिको विशिष्टताका कारण यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचीकृत गरिएको छ।

यही क्षेत्र भित्र पर्ने लिच्छिविकालिन काष्ठमण्डपबारे धेरैले विश्वास गर्दै आएको एउटा जनविश्वास के हो भने यो मण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो। तर, दुखका साथ भन्दा कमै मानिसलाई थाहा छ, काष्ठमण्डप सबैभन्दा पुरानो सम्पदा हो। काष्ठमडप यो क्षेत्रको मुख्य गहना र महत्व बोकेको आर्कषणको केन्द्र हो।

इतिहासका पुस्तकमा काष्ठमण्डप १२ औं शताब्दीमा बनेको उल्लेख छ। तर, अब यो मिति गलत साबित भइसकेको छ। काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भइसकेको छ। यो सम्पदा नेपालको मात्रै नभएर विश्वको सम्पदा हो। नेपालमा यस्ता कमै क्षेत्रहरु छन् जुन यति धेरै पुराना हुन्।

काष्ठमण्डप काठमाडौंको मध्यभागमा रहेको एउटा काठको सत्तलमात्र भए पनि यो पूरा काठमाडौंको इतिहासै बोकेको सम्पदा हो। काष्ठमण्डप पुरै मानव विकासक्रमको अध्यन अनुसन्धानका लागि एउटा महत्वपूर्ण ऐतिहासिक दस्तावेज पनि हो।

इतिहासकारहरूको ध्यान जानको कारण यसको इतिहास वा संस्कृतिमात्र होइन। यो त्यही काष्ठमण्डप हो जसको नामबाट राजधानी ‘काठमाडौं’ को न्वारान गरिएको छ। त्यही काष्ठमण्डप शब्द नै पछि ‘काठमाडौं’ बन्न गएको हो।

विभिन्न कालखण्डमा मर्मत संभार गर्दा सिमेन्ट, कंक्रिट प्रयोग भएता पनि अहिले त्यो सबै हटाइएको छ। सालको काठ, इट्टा र माटोका संरचनाबाट पुर्ननिर्माण भइरहेको छ। यसमा प्रयोग भएको करिव १५ प्रतिशत काठ भने पुरानै हो।

इतिहास, कथा, जनश्रुति अनुसार काष्ठमण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो। रूख यति ठूलो थियो कि त्यसबाट पूरा काष्ठमण्डप बनाइसक्दा पनि काठ सकिएन। बाँकी रहेको काठबाट काष्ठमण्डपको छेउमा अर्को एउटा सत्तल पनि बनाइयो जसलाई ‘सिँल्यं सतः’ अर्थात् ‘बाँकी रहेको काठको सत्तल’ भनिन्छ। काष्ठमण्डप बनाउन यस्तो अनौठो काठ जुन रूखबाट प्राप्त भएको हो त्यो रूखलाई कल्पवृक्ष भनिएको छ।

काष्ठमण्डप कसले बनाए ? किन बनाए ? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ। तर, बेलायतको एउटा विश्वविद्यालयमा गरिएको परीक्षणबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको छ। बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गर्दा यो तथ्य पत्ता लागेको हो।

भुइँचालोको केही महिनापछि काष्ठमण्डपको केही भाग उत्खनन भएको थियो। काष्ठमण्डप पुर्ननिर्माण समितिका सचिव गौतम डंगोलले भने, “पहिलाको इतिहास, कथा, जनश्रुति विभिन्न पुस्तकका आधारमा थियो, अहिले वैज्ञानिक रूपमा पुष्टि भयो। उत्खननका क्रममा त्यहाँको जगमा कोइला भेटिएको थियो। कोइला र जगको माटो, बालुवा परीक्षण गरिएको थियो। कोइलाको सी–१४ डेटिङ, जगको बालुवा, माटो, काठको ओएसएल डेटिङ टेस्ट गरिएको थियो। जसअनुसार काष्ठमण्डप सातौं शताव्दीको भएको पुष्टि भएको छ।”

उनले काष्ठमण्डपको भित्री जग सातौं शताव्दीको पत्ता लागेको बताए। त्यस्तै थामको माथिको बुथ पाचौँ शताव्दीको र थामहरु १० औँ शताव्दीको अनुसन्धानबाट पत्ता लागेको उनले बताए।

कलात्मक वास्तुकलाका दृष्टिले काष्ठमण्डप निकै महत्वपूर्ण र आर्कषक छ। काष्ठकला, चित्रकला र धातुकलाका विशिष्ट नमुनाहरुले पनि काष्ठमण्डपलाई खास बनाएको छ। युनेस्कोले हनुमान ढोका क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्नुको पछाडि पनि काष्ठमण्डप एक प्रमुख कारण हो।

नेपाल संस्कृतिक सम्पदाको दृष्टिले निकै महत्वपूर्ण छ। यहाँका सांस्कृतिक वस्तुहरुको आर्कषणका कारण नै सालिन्दा लाखौं पर्यटकहरु नेपाल आउँछन्। नेपालका १० वटा क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ। ती मध्ये आठ वटा क्षेत्र साँस्कृतिक क्षेत्र हुन्। सम्पदा त्यस्ता बस्तु वा स्थल हुन् जुन मानिसमात्रको अमूल्य सम्पत्तिका रुपमा रहेका हुन्छन्।

यस्ता सम्पदाहरुले आर्थिक फाइदा मात्र नभएर कुनै पनि मानिस वा समुदायको गौरब बोकेका तथा परम्पराको परिचायक पनि हुन सक्छन्। त्यसैले यस्ता सम्पदालाई जोगाएर राख्नु पनि आजको मुख्य दायित्व हो।

विस. २०७२ को विनाशकारी भूकम्पले उपत्यकाभित्र मात्र कुल पाँच सय ३७ सम्पदालाई क्षति प-याएको थियो। भूकम्प गएको करिव ६ वर्ष बित्न लागेता पनि बहुआयामिक महत्व बोकेका सम्पदाहरुको पुर्ननिर्माण हुन सकेको छैन्। एकदमै थोरै संख्याका सम्पदा पुर्ननिर्माण सम्पन्न भएका छन्, भने धेरै सम्पदा पुर्ननिर्माण प्रक्रियमा र भग्नावशेषको रुपमा छन्। उपत्यकामा आठ सय ८८ वटा अन्तर्राष्ट्रिय महत्वका सम्पदा तथा स्मारक रहेको तथ्यांक छ।

विनाशकारी भूकम्पले काठमाडौंको यही काष्ठमण्डप रहेको हनुमानढोका दरबार क्षेत्रलाई धेरै नोक्सान प-याइदियो। लगभग ९० प्रतिशत सम्पदा पूर्ण रूपमा क्षति भए। क्षति भएका सम्पदाहरूमा सबैभन्दा महत्त्वपूर्ण सम्पदा चाहिँ यही काष्ठमण्डप नै थियो।

विनाशकारी भूकम्पका कारण जग बाहेक सबै भत्किएर कुरुप बनेको काष्ठमण्डप हाल पुर्न निर्माणको अन्तिम चरणमा छ। आयोजनाका अनुसार काष्ठमण्डप पुर्न निर्माणको काम करिव ८० प्रतिशत सम्पन्न भइसकेको छ।

तीन तलाको काष्ठमण्डपको हाल अन्तिम अर्थात तेस्रो तलामा फिनिसिङको काम भइरहेको छ। काष्ठमण्डपको तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ विस. २०७५ साल वैशाख १८ गतेदेखि औपचारिक रुपमा पुर्न निर्माणको काम सुरु भएको थियो। आयोजना प्रबन्धक मणिन्द्र श्रेष्ठका अनुसार काष्ठमण्डप तोकिएकै समयमा निर्माण सम्पन्न हुने छ। जसअनुसार वैशाख १२ गते औपचारिक रुपमा मौलिक स्वरुपमा पुर्ननिर्माण सम्पन्न भएको काष्ठमाण्डपको उद्घाटन गरिने छ।

उनले भने, “विनाशकारी भूकम्पले जग बाहेक केही बाँकी राखेको थिएन। यहाँका बासिन्दाहरु र जानकारहरु यो विषयले धेरै चिन्तित थिए। उनीहरुमा यसको महत्व र प्राचिनता हराएर जाने त होइन भन्ने ठूलो चिन्ता थियो। हामीले यहाँका स्थानीय वासीन्दा लगायत पुरातत्व विभागसँग बृहत छलफल गर्यौँ। त्यसैअनुसार अहिले पुर्न निर्माणको अन्तिम चरणमा छ।”

मौलिकताका हिसाबले काष्ठमण्डप पुर्ननिर्माणमा बिशेष ध्यान दिइएको उनले बताए। उनले यसमा प्रयोग भएका सीप, स्रोत, साधन सबै परम्परागत रहेकोले हाल निर्माण भइरहेका सबै सम्पदा भन्दा काष्ठमण्डपको निर्माण कार्य सबैभन्दा मौलिक रहेको बताए।

विभिन्न कालखण्डमा मर्मत संभार गर्दा सिमेन्ट, कंक्रिट प्रयोग भएता पनि अहिले त्यो सबै हटाइएको छ। सालको काठ, इट्टा र माटोका संरचनाबाट पुर्ननिर्माण भइरहेको छ। यसमा प्रयोग भएको करिव १५ प्रतिशत काठ भने पुरानै हो।

यहाँभित्र गोरखनाथदेखि विभिन्न भैरव र गणेशका मूर्तिहरू पहिले जस्तै राखिने छ। देवताको मूर्ति भए पनि यो मन्दिर भने नभएको काष्ठमण्डप पुर्ननिर्माण समितिका सचिव गौतम डंगोलले बताए।

काष्ठमण्डप करिव एक रोपनी क्षेत्रफलमा फैलिएको छ। यसको निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाको मातहतमा उपभोक्ता समितिले लिएको छ। करिव २० करोड रुपैयाँको लागतमा पुर्न निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएकोमा हालसम्म करिव ८ करोड खर्च भएको आयोजना सचिव डंगोलले बताए। उनका अनुसार बाँकी काम करिव ६ करोडमा सम्पन्न हुनेछ। जुन आँकलन गरिएको भन्दा २५ प्रतिशत कम हुन आउँछ।

काष्ठमण्डप निर्माणमा स्थानीयको साथ सर्मथन उत्साहाजनक रहेको र सबै काम निकै पारदर्शी बनाइएको उनले बताए। उपभोक्ता समितिले काम गरेकै कारण यो सबै सम्भव भएको उनको भनाइ छ। उनले यदि काठ आयातमा समस्या नभए आयोजना तोकिएको समयमा सम्पन्न हुनेमा दुइ मत नभएको बताए।

यदि काष्ठमण्डपको निर्माण आयोजकले भनेजस्तै तोकिएको समयमा नै सम्पन्न भएमा यो आफैमा एउटा गतिलो सन्देश पनि हुने छ। किनभने नेपालमा विकास निर्माणका आयोजनाहरु तोकिएको समय नसकिने र लागत बढ्ने परम्परा जस्तै देखिन्छ। काष्ठमण्डप निर्माण भने तोकिएको र आँकलन गरिएको भन्दा कम बजेटमा पुर्ननिमाण सम्पन्न हुने छ।

सबै तस्वीर : एसके शर्मा/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *