आगामी २/३ वर्ष नेपाली साहित्यका लागि घाटाको वर्ष : डा. रवीन्द्र समीर

तर्कबहादुर थापा
१० माघ २०७७ ७:४३

साहित्य सृजना र चिकित्साकर्मलाई सँगै अगाडि बढाएका व्यक्तित्व हुन डा. रवीन्द्र समीर। नेपाली लघुकथाका अगुवा कथाकारका रुपमा आफूलाई स्थापित गर्न सफल समीरको वास्तविक नाम डा. रवीन्द्र पाण्डे हो। उनलाई साहित्यमा डा. रवीन्द्र समीरका नामले चिनिन्छ।

२०४७ सालमा ‘मातृभूमि’ पत्रिकामा निबन्ध प्रकाशित भएपछि औपचारिक साहित्य लेखनमा प्रवेश गरेका समीरका १२ वटा पुस्तकहरु बजारमा छन्। नेपाली लघुकथा विधामा आफूलाई स्थापित गरेका उनले ९ वटा लघुकथासंग्रह सार्वजनिक गरी सकेका छन।

आफ्नो चिकित्सकीय पेशा भन्दा साहित्यलाई जेठो ठान्ने डा. समीरले २०५३ सालमा तेस्रो आँखा नामक लघुकथासंग्रह सार्वजनिक गरेर आफूलाई पुस्तक लेखकका रुपमा उभ्याएका हुन्।

शब्दको सीमा हुने साहित्यको लघुकथा विधालाई स्थापित गरेका उनले १६५ लघुकथा समेटेर ‘मृत्युको आयु’ उपन्यास पनि साहित्यबजारमा पस्केका छन्। २०७५ सालमा बजारमा आएको उक्त उपन्यासले पाठकले मन पराएको उनले बताएका छन्। विदेशमा जाने नेपालीको मृत्यु भएपछि पशुपतिमा ल्याएर सदगद गर्दासम्मको अवस्थामा हुने कार्यहरु उक्त उपन्यासमा समेटीएको छ।

न्यूरोडको पिपलचौतारामा हुने पुस्तकहरुलाई खोलेर २ घण्टासम्म उभिएरै पढ्ने डा. समीरको २०५४ सालमा भएको देशव्यापी लघुकथा प्रतियोगिताले प्रथम स्थान हासिल गरेको थियो। उनको सम्मानको यात्रा पनि त्यँहीबाट सुरु भयो। त्रिवीबाट स्वर्ण पदक २०५९, ज्ञानचन्द्र बरमन गोल्ड मेडल २०६०, महेन्द्र विद्याभूषण २०६१, नेपाल विद्याभूषण २०६५ लगायत थुप्रै पुरस्कार डा. समीरको नाममा रहेका छन्।

चिकित्सकीय पेसा, सामाजिक कार्य र साहित्यलाई सँगै अगाडि बढाएका डा. रवीन्द्र समीरसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंश :

यहाँ पेशाले चिकित्सक हुनुहुन्छ । साहित्यकार पनि हुनुहुन्छ। कसरी समयलाई संयोजन गर्नुहुन्छ ?

म चिकित्सक भन्दा पहिला लेखक भएको हुँ। मैले विद्यार्थीकाल देखि नै लेख्न थालेको थिएँ। चिकित्सक हुँदासम्म त मेरो तीन वटा किताबहरु प्रकाशित भइसकेको थियो। मेरो चिकित्सा पेसा भन्दा साहित्य जेठो हो। जहाँसम्म समयको कुरो उठाउनु भयो। समय सबैको २४ घण्टा नै हो। कसरी म्यानेज गर्ने भन्ने हामीमा भर पर्ने हो।

मैले विषेश गरी विहानीको समयलाई लेखनका लागि छुट्याउँछु। विहान ५ बजेदेखि ७ बजेसम्मको समय भनेको मैले लेखनका लागि छुट्याउने समय हो। एउटा फाइदा के छ भने विभिन्न क्षेत्रका मानिसहरु, विषेशगरी विरामीहरु हामीलाई खोज्दै आउँछन्।

चिकित्सकीय पेशा भएका कारण विभिन्न सम्प्रदाय, भाषा, र भूगोलका व्यक्तिहरुसँग प्रत्यक्ष कुराकानी हुन्छ। मैले यही कुरालाई पात्रहरु लेखकलाई खोज्दै आएको सम्झिन्छु। उहाँहरुसँग कुराकानी गर्दाखेरी उहाँहरुको जुन मौलिकता हुन्छ।

यहाँलाई सम्झाना भएसम्म पहिलो साहित्य कहिले लेख्नु भएको थियो? त्यो के थियो?

विद्यालय शिक्षाको अध्ययनकै क्रममा मैले कथा, कविता र निबन्धहरु लेख्ने गर्ने। अतिरिक्त क्रियाकलापहरुमा भाग लिन पनि लेख्ने गरिन्थ्यो। औपचारिक रुपममा मेरो रचना छापिएको २०४७ सालमा हो। त्यतिबेला मातृभूमि भन्ने पत्रिकामा निबन्ध छापिएको हो। त्यसपछि साहित्य लेखनले निरन्तरता पायो। अहिलेसम्म १२ वटा पुस्तकहरु बजारमा छन्।

अहिले पनि कलम लचिरहेको छ। विशेषगरी पछिल्लो समय कुनै कृतिको तयारीमा हुनुहुन्छ कि?

खास गरेर कोरोनाको महामारी आएपछि, कोरोनामै केन्द्रित हुनुपर्ने हुँदा मैले अरु विषय सोच्न पाएको छैन। यो बीचमा पनि कोरोनाका सम्बन्धमा नै लघुकथाहरु लेखेको छु। र माघसम्म पहिलो लेखाइ सकिने गरी काम भइरहेको छ। कथा संग्रह नै हो। फागुन भरीमा सम्पादन गरेर चैत्रसम्ममा बजारमा ल्याउने सोच राखेको छु।

पढाइ र साहित्य दुबै उत्कृष्ट हुँदै गएको देखिन्छ। एकले अर्कालाई सहयोग गरेको हुन्छ ?

मैले साहित्य लेखन र पढाइलाई सँगै लिन पनि एउटा रुटिङ बनाएको थिएँ। पढिरहेको बेला बोर लाग्छ र घुम्न जान्छौं। त्यो घुम्न गएर विषयान्तर गर्नु भन्दा साहित्य लेख्यो भने पनि विषयान्तर हुन्छ। मैले साहित्य लेखन र पढाइलाई विषयान्तरको रुपमा लिएँ।

पेशा गर्ने बेलामा पेशामा नै प्रतिबद्धहुन्छ। त्यो बेलामा मैले साहित्य रचना गर्छु भन्ने कुरा पनि बिर्सेको हुन्छु। त्यस्तै लेख्नेबेला मैले पेशा पनि बिर्सेको हुन्छु। विषयबस्तु पाइसकेपछि ती विषयवस्तुलाई टिपेर राख्छु।

टिपेर राखेको कुरालाई एक्लै भएको बेला सोचेर म यसरी लेख्छु भनेर एउटा दृष्य तयार गर्छु।, मेरो मष्तिस्कमा भएको कच्चापदार्थ पाकेर अब लेख्नु पर्छ भन्ने जब लाग्छ म लेख्न बस्छु र प्राय एक सिटिङमै लेखेर सक्छु। सम्पादन भने पटकपटक हुन्छ। शब्दहरुसँग खेल्नु पर्ने भएकाले त्यो कार्य दोहोरिन्छ।

निबन्ध छापेपछि औपचारिक साहित्य यात्रा सुरु गर्नु भयो। मुक्तक संग्रह पनि छ। लघुकथालाई नै विधा बनाएर अगाडि बढ्नु भयो। यसरी सबै विधामा कलम चलाउँदा सजिलो कुन हुन्छ?

मेरो बिचार र अनुभवले नियात्रा र सस्मरणलाई नै बढी सजिलो पाएको छु। किन की यी बिधाहरुमा आफूले भोगेको कुरा लेख्ने हो। सबैभन्दा गाह्रो लघुकथा लेख्नु लाग्छ।

लघुकथा हेर्दाखेरी थोरै देखिन्छ। तर, लघुकथाको स्टकचर सोली जस्तो हुन्छ। माथि फराकिलो हुन्छ। त्यसपछि साघुरिँदै जान्छ। र चस्स घोच्ने खालको हुन्छ। जोक गर्ने खालको लघुकथा लेख्यो भने त्यो चुटकीला बन्यो, छोटो लेख्यो अन्तिममा उत्कर्ष भएन भने त्यो छोटो कथा हुन्छ। अहिले लघुकथाको नाममा छोटो कथा र चुड्किलाहरु लेख्ने गरिएको पाइन्छ।

उपन्यासमा धेरै शब्दमा थोरै कुरा भन्न पाइन्छ। तर, लघुकथामा थोरै शब्दमा धेरै कुरा भन्नु पर्ने हुन्छ। लघुकथाको शब्द चयन चेस खेले जस्तै हो। चेसखेलेजस्तै कुन शब्द राख्ने भन्ने बारेमा धेरै सोच्नु पर्ने हुन्छ।

निश्चित २ सयदेखि ३ सय शब्दको बीचमा पात्र परिवेश तथ्य लगायतका सबैकुरालाई समेटुन पर्ने हुन्छ। अन्तमा व्यङ्ग्यात्मक अन्त गनुपर्छ। अन्तिममा उत्कर्ष दिनुपर्छ। पाठकले पढ्दा सोच्दै आएको कुरा अनपेक्षित तरिकाले टुंग्याउनु पर्छ।

शब्दको सीमा हुन्छ भन्नु भयो। सानो कथा बन्छ, चुटकिला बन्छ पनि भन्नुभयो। यहाँको अनुभवमा लघुकथालेख्दा छुटाउनै नहुनेकुराहरु के हुन?

पहिलो कुरा शब्दको सीमा राख्नु पर्छ। मैले २ सय ५० देखि ३ सयसम्म मात्र शब्दलेख्ने गर्छु। दोश्रो कुरा धेरै पात्रहरुको प्रयोग नगर्नुहोस्। धेरै पात्र प्रयोग गरे लामो हुने गर्छ। सकेसम्म थोरै पात्र प्रयोग गर्नुहोस्। पात्रको चरित्र परिस्थिति जनाउनका लागि थोरै शब्दमा धेरै भन्न सकिने शब्दहरु चयन गर्नुहोस्। त्यसपछि उत्कर्षलाई पहिले नै सोचेको हुुनु पर्छ।

उत्कर्ष अनपेक्षित र विष्पोटक आउनु पर्छ। पाठकले पढेपछि चसक्क बिज्न सकोस्, त्यो खालको ट्वीस्ट इन्डिङगर्नु पर्छ। त्यो सफल लघुकथा भयो। यदि त्यो अन्त्यमा ट्वीस्ट भएन भने त्यो छोटो कथा भयो।

पहिलो कुरा शब्दको सीमा राख्नु पर्छ। मैले २ सय ५० देखि ३ सयसम्म मात्र शब्दलेख्ने गर्छु। दोश्रो कुरा धेरै पात्रहरुको प्रयोग नगर्नुहोस्। धेरै पात्र प्रयोग गरे लामो हुने गर्छ। सकेसम्म थोरै पात्र प्रयोग गर्नुहोस्। पात्रको चरित्र परिस्थिति जनाउनका लागि थोरै शब्दमा धेरै भन्न सकिने शब्दहरु चयन गर्नुहोस्। त्यसपछि उत्कर्षलाई पहिले नै सोचेको हुुनु पर्छ।

दुई किसिमबाट लघुकथा लेख्न सकिन्छ। एउटा क्लोज इन्डेड हुन्छ। त्यो भनेको पढ्दै गयो र सकियो। अर्को ओपन इन्डेड हुन्छ। तपाईँ पढ्दै गएपछि उत्कर्ष निकाल्नु हुन्छ। त्यसपछि के होला भनेर हरेक पाठकले आफ्नो आफ्नो धारणा राख्न सक्छन। आफ्नै कोणबाट अनुमान गर्न सक्छन। त्यसैले ओपन इन्डेड लघुकथा चोटिलो पनि हुन्छ र राम्रो पनि हुन्छ।

यहाँको उपन्यास ‘मृत्युको आयु’ तर्फ प्रशंग जोडेँ। प्रदेशीको कथाव्यथालाई समेटेर १६५ वटा लघुकथाको माला गास्नु भएको छ। यसका बारेमा केही बताइदिनु न!

यो मैले लघुकथा लेख्न सुरु गरेको उपन्यास हो। मेरो एक जना आफन्तको दुबईमा मृत्यु भयो। उहाँको शवलाई मैले विमानस्थलबाट रिसिभ गर्नुपर्ने भयो। दाहसंस्कारमा पनि सहभागी हुनु पर्ने भयो। त्यो बेलामा मैले धेरै कुरा अनुभव गर्न पाए।

त्यो दुःखद कुरालाई मैले टिप्न थाले। टिपेर राखे। मलाई उपन्यास बनाउनु पर्छ भन्ने सोच आएपछि, उपन्यासलाई न्याय दिनुपर्छ भन्ने उद्देश्यले म दुबई, बहराइन र ओमन पुगेको थिएँ।

नेपाली बस्ने सिविर, काम गर्ने ठाउँ। विरामी हुँदा लाने अस्पताल र मृत्यु भएपछिको मृत शरीर राख्ने ठाउँमा, नेपाली दूतावासमा, कानुनहरु बुझेँ। त्यो अध्ययन पूरा भएपछि म धेरैजनाको दाहसंस्कारमा पनि पुगेँ र बुझेँ। गरुडपुराण पनि आफूले अध्ययन गरेँ। तीन वर्षको निरन्तर मेहेनतपछि यो उपन्यास बाहिर आएको हो।

यो उपन्यास आएपछि मलाई पनि डर लागेको थियो। यो अलि रिस्क लिने काम थियो। लघुकथाको मालाबाट मैले यो उपन्यास बनाएको थिए। नेपाली साहित्यमा यो नयाँ प्रयोग पनि थियो। नयाँ प्रयोग पाठकवर्ग समिक्षक वर्गले रुचाउने की नाई भन्ने भय रहन्थ्यो। पुस्तक बजारमा गएपछि पाठक, समीक्षक र समालोचक सबैको प्रतिक्रिया राम्रो आयो। त्यसपछि हामीले नयाँ प्रयोग पनि राम्रो हुँदो रहेछ भन्ने भयो।

यहाँको उपन्यासभित्र प्रयोग भएको एउटा शब्दलाई मैले सापटी लिएँ। इसीजीको रेखा सिधा भएपछि मृत घोषणा गरियो भन्नु भएको छ। यो मेडिकल शब्द पनि हो। यस्ता धेरै शब्दहरु त्यहाँ प्रयोग भएका छन। कस्तो प्रतिक्रिया पाउनु भयो ?

मैले मेडिकल शब्दहरु कम नै प्रयोग गरेको छु। सबैले बुझ्ने भाषामा राखेको छु। मरेको मान्छेको इसीजीमा सिधारेखा आउदोरहेछ भन्ने पाठकले बुझ्नुभयो होला। मेरो त्यो पुस्तक पढेपछि धेरैले मलाई प्रतिक्रिया पनि दिनु भएको थियो।

उहाँहरुले पोष्टमार्टमको बारेमा, मृत शरीर (डेथबडी)का बारेमा, लाश कुहिन लाग्ने प्रोसेस्, समयावधि, विदेशमा आइसीयूमा कसरी राख्छ। सिंगारेर कसरी लाशलाई नेपाल पठाउँछ, सबै विधिहरु थाहा भयो भन्नु भयो।

मृत्युको आयु नै उपन्यासको नाम कसरी जुराउनु भएको थियो?

किताब लेखेपछि नाम राख्न गाह्रो हुन्छ। मृत्युको आयू मेरो श्रीमती दीपाले राखेकी हुन। उनले मलाई यो सल्लाह दिइन्, मलाई पनि उनको सल्लाह राम्रो लाग्यो। धेरै शीर्षकहरुमध्येको त्यो छानेको हो। मृत्युलाई हामीले जति बुझ्न सक्छौं त्यति सजिलो तरिकाले लिन सक्छौं भन्ने पनि हो। मान्छे जन्मेपछि मर्छ सबैलाई थाहा छ। तर, हामीले मर्छौ भनेर कसैले पनि सोच्दैनौं।

जीवनको आयु धेरैलाई थाहा हुन्छ। मृत्युको आयू त कसैलाई थाहा हुँदैन। मृत्यु भएपछि सुरु भएको किताब १३ दिनको दाहसंस्कार पछि सकिन्छ। त्यो मात्र नभएर विदेशमा मृत्यु भएकाहरुलाई नेपाल ल्याउन लाग्ने समय। आफन्तले गर्ने काजक्रियाको समय आदि विषयले पनि मृत्युको आयुलाई संकेत गर्ने भएकाले पनि यो नाम जुरेको हो भन्नु पर्छ।

कोरोनापछिको नेपाली साहित्य कस्तो हुन्छ होला?

एकदमै अफ्ठेरो प्रश्न हो यो। कोरोना कालमा हामीले धेरै दुःख पीडा अन्यौल भोग्यौ। मेरो मात्र कुरा गर्नु हुन्छ भने पनि कोरोनाको समयमा मैले खाना खाइरहेका बेला पनि कोरोनको बारेमा सामुदायिक रेडियोमार्फत आफ्नो कुरा जनतालाई बुझाउने काम गरिरहेको हुन्थे। मलाई फोन गरेर बुझ्ने सबैलाई मैले समय दिए। हामी स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले पनि होला योबाट टाढा रहन सकेनौं।

यो १ वर्षमा धेरै लेखकहरु घरमै बस्नु पर्यो। लेख्नु भयो होला। तर, आर्थिक समस्याका कारण लेखकले प्रकाशन गर्न पाएका छैनन्। पाठकले किनेर पढन सकेका छैनन। पुस्तकको बिक्री कम छ।

प्रकाशकले राम्रो कन्टेन छैन भने छाप्न मानिरहेका छैनन्। मेरो विचारमा आगामी २/३ वर्ष नेपाली साहित्यका लागि घाटाको वर्ष हो जस्तो लागेको छ। लेखनलाई मात्र पेशा बनाउनुभएकाहरुका लागि संघर्षको दिन आउँछ झैं लाग्छ।

अर्को कुरा यो महामारीको अनुभवलाई हामीले लिपिबद्ध गर्न सक्यौं भने भावी पुस्ताका लागि दस्वावेज पनि हुन सक्छ। महामारी यसभन्दा पहिला पनि न फैलिएका भने होइनन्। हामीले कुनै पनि महामारीको बारेमा पढन पाएनौं।

त्यो बेलाको केही पनि सामग्री हामीसँग छैन। तर, १९९० सालको भूकम्पका बेला पद्मशमसेर राणाले लेख्नु भएको किताब ७२ सालको भूकम्पका बेला खोजि खोजी पढियो।

साहित्यको बजार कम हुनुको कारण के होला ?

पहिलो कुरा के भयो भने रहेक व्यक्तिले साहित्य लेख्न थाले। आफ्नो पेसाबाट रिटायर्ड हुने वित्तिकै आत्मकथा लेख्न थाले मान्छेहरुले। सस्मरणहरु लेख्ने। ४ दिन थाइल्याण्ड कोही घुम्न गएको छ भने एउटा किताब नै लेख्ने । सस्तो सामग्री उत्पादन गर्ने। सस्तो सामग्री उत्पादन भएपछि पाठकलाई पढ्न मजा आएन अनि साहित्य नै यस्तै हो भन्ने भयो।

यो लकडाउनमा धेरैले किताब लेख्नु भएको छ। कुनै प्रकाशकले छाप्ला कुनै आफै पनि छाप्ने छन्। तर, त्यो बिक्री हुँदैन। मान्छेको आयश्रोत छैन। आयश्रोत कम छ। त्यसैले गर्दाखेरी पनि साहित्यको बजारमा संकट आएको हो।

आफ्नो पेशा चलिरहेको अवस्थामा, पैसा कमाई भइरहेको अवस्थामामात्र मान्छेले सीनेमा हेर्छ, घुम्न जान्छ। त्यो बेला साहित्यको बजार फसटाउँछ। त्यो खालको वातावरण अहिले छैन। पहिलेको अवस्था आउनका लागि २/३ वर्ष लाग्छ जस्तो लाग्छ ।

साहित्यको बजार कम हुनुमा प्रविधिको केही भूमिका छ ?

प्रविधिले पनि निकै असर गरेको छ। पहिले कुनै पनि लेखकले लेखेको कुरा एकै पटक कितबका रुपमा आउँथ्यो । अहिले हरेकका हातमा मोबाइल छ। मोबाइलमा फेसबुक छ। हरेकले आफ्नो अनुभूति फेसबुकमा हाल्छ। पहिलेको जस्तो किताब निकालेर बजारमा गएपछि पाठकले पढ्दा जुन नयाँ कुरा पाउँथ्यो। तर अहिले पाइँदैन।

यी समाजिक सञ्जालका कारण पनि लेखकले लेखेको कुरामा हुनपर्ने ओरिजीनल स्वाद हुँदैन। पुनः लेखन गरेमात्र नत्र पहिला आएको भन्ने भइरहन्छ। मैले लेखेको अरुले पढिहाल्छन् नि भन्ने सोचले अहिले कतिाब चल्दैन। बुढो मान्छे र समुद्र भन्ने किताब २ सय पटक पुनःलेखन गरिएको हो। मैले पनि धेरै पटक किताब सम्पादन गर्छु। अहिले महामारीको बारेमा कसैले किताब लेख्छ भने त्यो अपुरो हुन्छ। महामारी बाँकी नै छ।

यहाँले लेखेको ‘नयाँ कथा’ म्यानमारको नेपाली भाषा किताब कक्षा ७ मा पढाइदो रहेछ । विषयवस्तु बैदेशिक रोजगारी नै हो?

गाउँमा घरमा बसेको युवालाई काम नलाग्ने मान्छे भन्ने गरिन्छ। विदेश गएको र विदेशबाट आएकाहरुलाई सम्मान गर्ने चलन हुन्थ्यो। अहिले पनि घरमा बस्नेले काम नपाएर बसेको भन्ने अपमानको घुट्को पीउनै पर्छ। विदेश गएर आएपछि उक्त व्यक्तिले आफूलाई प्रतिष्ठित अनुभव गर्ने चलन चल्न थाल्यो।

छोराछोरी विदेशमा भएपछि बुढामान्छेहरुको पनि विदेश जानु पर्ने अवस्था आयो। गाउँमा कोही यदि विदेश गएन भने उसले आफूलाई तल्लो स्तरको नागरिक भएको अनुभूति गर्न थाल्यो। यी र यस्तै विषयलाई समेटेर मैले त्यो नयाँ कथा लेखेको थिएँ।

बर्मामा भएका नेपालीहरुका लागि नेपाली भाषा पढाइ हुन्छ र त्यो नेपाली भाषाको पुस्तकमा मेरो उक्त लघुकथा छापिएको हो। नेपाल बाहिरका नेपालीले त्यो पढ्न पाउँनु र नेपाल बाहिर छापिनु पनि गर्वको कुरा हो।

नेपालको परिवेशमा लेखेर नै बाच्न सकिन्छ कि सकिँदैन?

नेपालमा पछिल्लोसमय लेखेरै बाच्नेहरु पनि हुनुहुन्छ। तर,समग्रको कुरा गर्दा लेखेर कसरी बाच्ने भन्ने कुरा हुन्छ। आफूमात्र बाच्ने की आफ्नो परिवार पनि पाल्ने की, अलिकति स्तरीय जीवन बाच्ने की कस्तो जीवन बाच्ने भन्ने हुन्छ। लेखेर नेपालमा स्तरीय जीवन बाच्ने अवस्था छैन।

कहिले आउला त्यो दिन ?

देशमा समृद्धि हुन जरुरी छ। जनताको क्रयशक्ति बढ्नु प-यो। नेपालमा कोरोनाको महामारी सकियो भने जनतालाई आफ्नो दैनिकीमा सहज भयो भने यस्तै ४/५ वर्षपछि अलि सजिलो हुन्छ कि।

लेखनका लागि अध्ययन कतिको आवश्यक छ ?

एकदमै आवश्यक छ। लेख्नको लागि १०० वटा पुस्तक पढ्यौं भने धेरै आइडिया हुन्छ। पढ्नु भनेको अरुको शैली, भाषा, शब्द छनोट आदि बुझ्नु पनि हो। अरुले उक्त विषयवस्तुलाई कुन कोणबाट उठाएको छ। आफूले कुन कोणबाट त्यसलाई विश्लेषण गर्न सकिन्छ भन्ने पनि बुझिन्छ।

भ्रमणले लेखनमा झन सजिलो हुन्छ। आफूले लेख्ने विषयको समूदायमा बसेर उनीहरुसँग जति घुलमील हुन सक्यो त्यति धेरै लेखनलाई सजिलो हुन्छ र राम्रो पनि। अहिले काल्पनिक रचना गरेको त्यतिधेरै जाँदैन।

साहित्यमा लाग्दाका फाइदा र बेफाइदा के के छन्?

मलाई त केही पनि बेफाइदा भएको छैन। किताब बेचे रोयल्टी फाइन्छ। पैसा आउँछ । त्यो भन्दा ठूलो कुरा पाठकसँग धेरै कनेक्टेड हुन्छ। जस्तो, लक्ष्मीप्रसाद देवकोटाको पालामा अरु पनि मानिस थिए।

उनी जस्तै अरु पनि मन्त्री थिए। तर, उहाँलाई बाहेक अरु कसैलाई हामीले पढ्यौं त? चिन्यौं त? त्यो के घाटा हो र? त्यसैले साहित्यमा जता हेर्यो भने पनि फाइदा मात्र छ।

नयाँ लेख्न चाहानेको लागि टिप्सहरु केही छ ?

साहित्यमा जवरजस्ती नलाग्नु होला। भित्र मनबाट लेख्छु भन्ने छ भने पहिले धेरै किताब पढ्नुहोस्। त्यसले लेखनको शैली थाहा हुन्छ। जुन विधामा लेख्न चाहानुहुन्छ त्यस विधाको ज्ञान पनि लिनुहोस्।

व्याकरणको, शब्द बनाउने पनि ज्ञान हुनु पर्यो। पाठक वर्गबाट आएको फिडब्याक पनि लिनुहोस्। सबै क्षेत्रमा संघर्ष छ। लेख्ने क्षेत्रमा पनि करिव ४/५ वर्ष संघर्ष गरेर टिक्न सक्नु भयो भने मात्र स्थापित हुनुुहुन्छ।

नेपालको परिवेशमा आफ्नो बैकल्पिक व्यवसाय नभएर लेखनमा मात्र जीवन निर्वाह गर्छु भन्न गाह्रो छ। धेरै लेख्नु पर्दैन गुरुप्रसाद मैनालीको १० ओटा कथाको संग्रहमात्र हो नासो अजर र अमर हुनु भयो। त्यसैले धेरै साधनाबाट थोरै लेख्नुहोस तर, कालजयी लेख्नुहोस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *