लालुप्रसाद यादवको अवस्था गम्भीर, एम्स अस्पतालमा सार्ने तयारी
काठमाडौं। राँचीको रिम्स अस्पतालमा उपचार गराइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको अवस्था गम्भीर भएको छ । लालुका छोरा तेजस्वीका अनुसार लालुको फोक्सोमा पानी जमेको छ र उनको अनुहार निकै सुन्निएको छ । लालुको गम्भीर स्थितिका कारण उनलाई दिल्लीको एम्स अस्पताल सार्ने तयारी गरिएको छ । यही सिलसिलामा लालुका छोराहरु तेजस्वी र तेजप्रतापले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसँग छलफल गरेका छन् ।
पछिल्लो जानकारीअनुसार लालुको स्वास्थ्य लगातार बिग्रिइरहेको छ । डाक्टरको बोर्डले रिपोर्ट दिनासाथ जेल प्रशासनले उनलाई दिल्ली सार्न अदालतबाट स्वीकृति लिनेछ । लालु चारा घोटाला अभियोगमा जेलमा थिए । राँचीको जेलमा रहेका उनलाई जेलबाटै रिम्स अस्पताल ल्याइएको थियो । छोरा तेजस्वीका अनुसार लालुको मुटुको सर्जरी यसअघि नै गरिएको थियो । उनको मृगौलाले पनि २५ प्रतिशत मात्रै काम गरिरहेको छ । तेजस्वीका अनुसार लालुलाई निमोनिया भएको छ । बिहीबार लालुलाई सास फेर्न समस्या भएको थियो । जाँचमा लालुलाई निमोनिया भएको थाहा भएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment