जसले चिन्दै नचिनेका लाखौं मानिसहरुको लागि आफ्नो घरमा डिनर आयोजना गरे

डिसी नेपाल
११ माघ २०७७ १७:३२

काठमाडौं। एक व्यक्ति अक्सर आफ्नो घरमा डिनर आयोजना गर्थे । डिनरमा आउने मानिसहरुमध्ये धेरैजसो यस्ता हुन्थे जसलाई उनले पहिले कहिल्यै भेटेका हुँदैनथे । अर्थात उनी चिन्दै नचिनेका मानिसहरुलाई घरमा बोलाउँथे । जो पनि यो डिनर पार्टीमा सहभागी हुन चाहन्थे उनीहरुले फोन गरेर वा इमेल पठाएर आफ्नो नाम पहिले नै बताउनुपर्थ्यो ।

आफ्नो घरमा हरेक आइतबार अन्जान मानिसहरुलाई डिनर गराउने यी व्यक्ति थिए जिम हेन्स । अमेरिकामा जन्मिएका जिम पेरिसमा बस्थे । पेरिसमा रहेको आफ्नो घरमा अनौठो डिनर पार्टी आयोजना गर्ने उनलाई सोसल नेटवर्किङको गडफादर पनि भन्न थालिएको थियो । यी डिनर पार्टीमा कैयौं देशका फरक फरक किसिमका मानिसहरु सहभागी हुन्थे । स्थानीय मानिसहरु, यात्रुहरु, प्रवासीहरु सहभागी हुने यो डिनरको सिलसिला ४० वर्षसम्म चल्यो ।

बीबीसीको रिपोर्टअनुसार आफ्नो घरमा डिनर पार्टी सुरु गर्नुभन्दा पहिले जिमले लक्ष्य राखेका थिए – मानिसहरुलाई पूरै विश्वसँग साक्षात्कार गराउने । उनका छोरा जेस्पर हेन्स यो लक्ष्यमा आफ्ना पिता लगभग सफल भएको मान्छन् । जब जिमले यी पार्टी आयोजना गर्न थाले त्यतिबेला फेसबुकजस्ता सामाजिक संजाल थिएनन् । अन्जान मानिसहरुलाई घरमा बोलाउनुभन्दा पहिले जिमले कुनै प्रश्न सोध्दैनथे । सहयोग गर्न चाहनेले खाममा सहयोग दिन सक्थे ।

विगत ४० वर्षमा जिमले लाखौं मानिसहरुलाई घरमा खाना खुवाए । रोचक कुरा जिम आफूले खाना बनाउँदैनथे । पाहुनाहरुले खाना बनाउँथे । जिम मदिरा पिउँदैनथे र उनको पार्टीमा पाहुनाले पनि धेरै मदिरा पिउँदैनथे । यी पार्टी रातको ११ बजेसम्म सकिन्थे । ६ जनवरी २०२१ मा ८७ वर्षको उमेरमा जिमको निधन भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *