गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन सुरु

रासस
११ माघ २०७७ १८:४५

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ । विभागले आज पत्रकार सम्मेलनमार्फत उक्त प्रणाली झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ । गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वैशाखमा निर्वाचन भए पनि त्यसले जनगणनालाई धेरै असर नगर्ने बताए । यो राष्ट्रिय महाअभियानका रुपमा रहेको जनगणना सफल बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म सबैको उत्तिकै भूमिका रहेको छ ।”

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले विगतमा गणक र सुपरीवेक्षकका लागि आवेदन दिन दिनभर लाम बस्नुपर्ने भए पनि अनलाइनमा जाँदा त्यो हट्ने बताए । आगामी वर्ष हुने जनगणनामा गणक र सुपरीवेक्षक गरी झण्डै ५२ हजार आवश्यक पर्ने देखिएको छ । उनले भने, “धेरै करारमा नियुक्त गरिने छ भने जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीबाट लिन सकिने छ ।”

आजदेखि शुरु भएको अनलाइन आवेदन इच्छुक व्यक्तिले ६० दिनसम्म भर्न सक्नेछन् । चैतमा प्रदेश र जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले छुटेका व्यक्तिले एक साताभित्र ती कार्यालयमा पनि फारम भर्न सकिने व्यवस्था मिलाइने विभागले जनाएको छ । फारम निःशुल्क हुने र गणक र सुपरीवेक्षक दुवै पदका लागि स्नातक तह वा सो सरहको शैक्षिक योग्यता चाहिने बताइएको छ । उम्मेदवारले प्राथमिकताका आधारमा आफूले काम गर्न चाहेको दुई क्षेत्र उल्लेख गर्न सक्नेछन् भने छनोटमा परेका उम्मेदवारलाई स्थायी बसोबास भएको ठेगानामा काम गर्न प्राथमिकता दिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *