आजदेखि देशैभरी खोप अभियान सुरु, प्रधानमन्त्रीले गरे शुभाराम्भ (प्रत्यक्ष प्रशारण)

डिसी नेपाल
१४ माघ २०७७ १०:३६
92
Shares

काठमाडौं । आजदेखि देशैभरी कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु हुँदैछ । आजदेखि सुरु हुने पहिलो चरणको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका वर्गलाई खोप लगाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियानको शुभारम्भ गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाई नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। गएको एक वर्ष कठिन रहेको स्मरण गर्दै उनले अब खोप प्राप्त भएपछि कोरोना विरुद्धको लडाइले नयाँ चरणमा प्रवेश गरेको जानकारी दिए।

उनले भने, ‘कसैलाई थाह नभएको अवस्थामा सुरु भएको हो। एक वर्ष पहिलाको स्थिति हेर्नुभयो भने कति भयावह छ भन्ने जानकारी पनि थिएन। तर, अग्रपंतिमा रहेर तदारुकताका साथ काम गर्नु भयो। म धेरै धेरै प्रशंसा गर्न चाहान्छु।’

आजदेखि सुरु गरिएको खोप अभियानमा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप लगाइँदैछ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप भारत सरकारले १० लाख डोज नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियानको तयारी पूरा भएको बताउँदै केही अस्पताललाई खोप केन्द्रमा परिणत गरी खोप लगाइने जानकारी दिए ।

खोप अभियानका लागि देशभरका ६८ वटा जिल्ला अस्पताल तथा अन्य खोप केन्द्र गरी १२० खोप केन्द्र तोकिएका छन् । पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्ट लाइनरले खोप लगाउन पाउने गरी व्यवस्थापन गरिएको छ।

डाक्टर तथा स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापन गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका महिला तथा पुरुषलाई राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *