गहना पसलको छेउको सटरमा जुस पसल खोले, सुरुङ बनाएर करोडौंको गहना चोरेर फरार

डिसी नेपाल
१४ माघ २०७७ ११:३२

काठमाडौं। चोरहरुले चोरीको लागि अनेक जुक्ति लगाउँछन् । यस्तै फिल्मी शैलीमा चोरी गरेर भागेका दुई चोरहरु पक्राउ परेका छन् । यी चोरहरुले चोरीको लागि यति गजबको आइडिया लगाएका थिए कि उनीहरुको चोरीको कहानी कुनै फिल्मी कहानीभन्दा कम छैन । चोरी भारतको नवी मुम्बइको ठाणेमा भएको हो ।

इण्डिया टुडेका अनुसार ठाणेमा रहेको एक गहना पसलको छेउको खाली सटर चोरहरुले भाडामा लिए । उनीहरुले त्यहाँ जुस पसल खोले । जुस पसल चलाइरहेका उनीस्हरुले रातको समयमा चुपचाप दुई पसलको बीचको भित्तामा ड्रिल मेसिनले प्वाल पारेर सुरुङ बनाए । त्यसपछि उनीहरुले करोडौं मूल्यका गहना लिएर भागे । जुन व्यक्तिले यसरी चोरी गरे ती व्यक्ति झारखण्डका भएको बताइएको छ ।

नवी मुम्बइ पुलिसका एसीपी विनायक वस्तले इण्डिया टुडेलाई बताएअनुसार चोरहरुले पहिले वर्तक नगरको पोखरण रोडस्थित वरिमाता ज्वेलरी शपमा केही दिनदेखि निगरानी गरिरहेका थिए । जब उनीहरुले गहना पसलको छेउको सटर खाली भएको थाहा पाए उनीहरुले त्यो सटर भाडामा लिए । त्यसपछि उनीहरुले भित्तामा सुरुङ बनाउन आवश्यक सबै सामान जम्मा गरे । त्यसपछि उनीहरुले गहना पसल खुल्ने र बन्द हुने समय तथा हप्ताको कुन बार पसल बन्द रहन्छ भन्ने पनि निगरानी गरेका थिए ।

जुन व्यक्तिले सटर भाडामा लिएका थिए उनको नाम राहुल अब्दुल मजिद शेख हो । उनले भाडामा लिएको सटरको अगाडि ‘अब्दुल फ्रुट्स’ नामको साइनबोर्ड पनि लगाएका थिए । १७ जनवरीको राती उनले आफ्ना अन्य ४ साथीहरुसँग मिलेर भित्ता फुटाएर पसलमा भएका सबै गहना चोरेका थिए । चोरी गरिएको सामानको मूल्य १ करोड ३७ लाख भारु भएको बताइएको छ । पुलिसले राहुल र उनका एक साथी साहेब अकबर शेखलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट केही गहना पनि बरामद भएको छ । पुलिसले फरार चोरहरुको खोजी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *