श्रीमतीले छोडेपछि सबै महिलाप्रति घृणा, १८ महिलाको हत्या गर्ने सिरियल किलर पक्राउ

डिसी नेपाल
१४ माघ २०७७ १६:४३

काठमाडौं। एक व्यक्तिलाई श्रीमतीले छोडेर गएपछि उनले सबै महिलाहरुलाई घृणा गर्न थाले । यो घृणा यतिसम्म बढ्यो कि उनले महिलाको हत्या गर्न थाले । उनले विगत १७ वर्षमा १८ जना महिलाको हत्या गरिसकेका थिए । गएको जनवरी ४ मा भएको पछिल्लो हत्याको अनुसन्धान गर्ने क्रममा अन्ततः उनी पक्राउ परेका छन् । मंगलबार भारतको तेलंगना राज्यको पुलिसले उनलाई पक्राउ गरेको हो ।

बैंगलोरबाट संचालित द न्यूज मिनट अनलाइनका अनुसार ४ जनवरीमा हैदराबादको जुबली हिल्समा भएको एक महिलाको हत्याको अनुसन्धान गर्ने क्रममा सिरियल किलर रमुलुलाई पक्राउ गरिएको हो । सिरियल किलर रमुलुले वेंकटम्मा नामकी युवतीको हत्या गरेपछि उनको अनुहारमा पेट्रोल हालेर जलाइदिएका थिए । रचकोंडा पुलिस र हैदराबाद टास्क फोर्सले २० दिनको संयुक्त अपरेशनपछि सिरियल किलरलाई पक्राउ गरेको हो ।

४५ वर्षका रमुलु शहरमा ढुंगा काट्ने काम गर्छन् । उनलाई अहिलेसम्म २१ पटक गिरफ्तार गरिसकिएको छ । तीमध्ये १६ पटक हत्याको आरोपमा पक्राउ परेका छन् । आरोपी रमुलुले अहिलेसम्म १८ जना महिलाको हत्या गरिसकेका छन् । २१ वर्षको उमेरमा रमुलुको बिहे भएको थियो । तर केही समयपछि नै उनकी पत्नी अर्कैसँग भागिन् । त्यसपछि रमुलुलाई महिला जातिसँग नै घृणा हुन थाल्यो र उनले महिलाहरुको हत्या गर्न थाले । पुलिसका अनुसार उनले २००३ देखि नै महिलाको हत्या गरिरहेका थिए ।

रमुलुले एक्ली महिलालाई यौनको बदलामा पैसा दिने लोभ देखाउँथे र त्यसपछि हत्या गर्थे । मदिरा वा ताडी सेवन गरेपछि उनी महिलाहरुको हत्या गर्थे त्यसपछि उनीहरुको मूल्यवान सामान चोरेर भाग्थे । २०११ मा सेन्ट्रल जेल चेरलापल्लीमा सजाय काट्ने क्रममा उनलाई एररागड्डाको मानसिक अस्पतालमा भर्ना गरिएको थियो जहाँबाट उनी अन्य ५ जनासँगै भागेका थिए ।

उनलाई २०१३ मा पुनः गिरफ्तार गरियो तर २०१८ मा हाइकोर्टमा अपिल पिटिसन दायर गरेपछि अदालतले उनलाई छोडिदियो । त्यसपछि पनि उनले २ जनाको हत्या गरे । त्यसपछि उनलाई पुनः पक्राउ गरियो । जुलाइ २०२० मा उनी फेरि जेलबाट बाहिर आए । त्यसपछि फेरि उनले २ हत्या गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *