छोरीले ‘मृत’ आमालाई जलाउनै लाग्दा केही सेकेण्ड पहिले आमा जीवितै भएको थाहा पाएपछि…
काठमाडौं। अर्जेन्टिनामा एक महिलाले आफ्नी ‘मृत’ आमालाई जलाउनै लाग्दा केही सेकेण्ड पहिले मात्र आमा जीवितै भएको थाहा पाएपछि तत्कालै कर्मचारीहरुलाई रोकेर अनर्थ हुनबाट बचाएकी छिन् । ८९ वर्षकी आमाको पहिचान खुलाइएको छैन । उनलाई शनिबार छाती दुख्ने समस्या देखिएपछि उत्तर पूर्वी अर्जेन्टिनाको रेसिस्टेन्सियास्थित एक निजी अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्ट अस्पतालका डाक्टरले महिलाको हृदयाघातका कारण मृत्यु भएको भन्दै उनकी ५४ वर्षकी छोरीलाई मृत्यु प्रमाणपत्र दिए ।
अन्तिम संस्कारको लागि कर्मचारीहरुले महिलालाई जलाउनको लागि कन्भेयर बेल्टबाट आगो लगाउने ठाउँमा पठाउनै लागेका थिए । त्यही बेला छोरीले आमामा जीवनको संकेत देखेपछि तत्कालै कर्मचारीहरुलाई रोकिन् । अर्जेन्टिनाको अखबार डायरियो नोर्तेलाई उद्धृत गर्दै डेलीमेलले लेखेअनुसार महिला शनिबारदेखि एक निजी क्लिनिकमा थिइन् । भोलिपल्ट छोरी भेट्न आउँदा अस्पतालका डाक्टर र कर्मचारीले महिलाको मृत्यु भएको भनेर मृत्यु प्रमाणपत्र दिएका थिए ।
डाक्टरले आमाको मृत्यु भएको भनेपछि उनी भेलेज सार्सफिल्ड एभेन्यूमा रहेको अन्तिम संस्कार स्थलमा गइन् । कर्मचारीहरुले अन्तिम संस्कारको प्रक्रिया सुरु गरे । जब महिलालाई जलाउनको लागि इन्सिनेरेटर (विद्युतीय शवदाह मेसिन) भित्र हाल्न लागिएको थियो, त्यही बेला छोरीले आमा जीवितै रहेको चाल पाइन् र तत्कालै कर्मचारीलाई रोक्न भनिन् । आमालाई तत्काल अस्पताल फर्काइयो जहाँ अहिले उनको आइसीयूमा राखेर उपचार भइरहेको छ । स्थानीय अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment