राष्ट्रपति बनेको १० दिनमै जो बाइडेनप्रति अमेरिकी जनताको आक्रोश किन चुलियो ?

डिसी नेपाल
१८ माघ २०७७ ११:४५

काठमाडौं। अमेरिकी जनताले जो बाइडेन राष्ट्रपति बनेपछि आफूहरुको समस्याको सम्बोधन हुने अपेक्षा गरेका थिए । यो कुरा निर्वाचनमा बाइडेनले पाएको मतमा पनि देखिन्थ्यो । तर, बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेको १० दिनमै अमेरिकी जनताको बाइडेनप्रतिको आक्रोश चुलिएको छ । बाइडेन सरकारको पछिल्लो एउटा निर्णयले अमेरिकी जनता आक्रोशित छन् र यसले ठूलो विवादको सृजना गरेको छ ।

बाइडेन सरकारले २००१ को सेप्टेम्बर १ मा पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमा गरिएको आतंकवादी आक्रमणका मुख्य योजनाकारसहित अल कायदा र अन्य आतंकवादी संगठन सम्बद्ध करिब ४० जना आतंकवादीलाई कोरोना भ्याक्सिन पहिले पाउनेगरी प्राथमिकतामा राख्ने निर्णय गरेपछि अमेरिकी नागरिक आक्रोशित भएका हुन् । बाइडेन सरकारले अमेरिकाको जेलमा रहेका कैदीहरुलाई पहिले भ्याक्सिन दिने निर्णय गरेको न्यूयोर्क पोस्टले खुलासा गरेको थियो

यो निर्णयसँगै विवाद सृजना भएको छ । यी आतंकवादीहरुलाई अमेरिकाको ग्वान्तानामो बे जेलमा राखिएको छ । प्रशासनको दस्तावेजबाट यी आतंकवादीहरुलाई भ्याक्सिनको पहिलो प्राथमिकतामा राखिने र उनीहरुले भ्याक्सिन लगाउन चाहन्छन् वा चाहँदैनन् भन्ने कैदीहरुमै निर्भर गर्ने खुलासा भएपछि विवाद भएको छ । रिपोर्टमा पेन्टागनका एक अधिकारीले कैदीहरुलाई पहिलो प्राथमिकतामा भ्याक्सिन दिने गरी जारी गरिएको मेमोमा हस्ताक्षर गरिसकेका छन् ।

विवाद भएपछि पेन्टागनले भने ग्वान्तानामो बे जेलमा रहेका कुनै पनि कैदी बन्दीहरुलाई भ्याक्सिन नदिइएको स्पष्टीकरण दिएको छ । फोर्ब्सका अनुसार पेन्टागनका प्रवक्ता जोन किर्बीले शनिबार दिउँसो ट्वीट गर्दै ग्वान्तानामो जेलका कुनै पनि कैदी बन्दीलाई भ्याक्सिन नदिइएको स्पष्ट पारेका छन् । उनले तत्कालका लागि योजना रोकिएको भनेका छन् । उनले योजना स्थगित गरिएको भनेसँगै पहिले योजना रहेको पनि खुलासा भएको छ ।

अर्कोतर्फ २ जनाको हत्या अभियोगमा ३३ वर्षको जेल सजाय काटिरहेका पूर्व अमेरिकी फुटबल रनिङ ब्याक ओजे सिम्पसनले ट्वीटरमार्फत आफूले भ्याक्सिनको पहिलो डोज लगाएको जानकारी दिएपछि सामाजिक संजालमा अमेरिकीहरुले आक्रोश पोखिरहेका छन् । सिम्पसनलाई आफ्नी श्रीमती र उनका एक साथीको हत्या अभियोगमा दोषी ठहर गरेर ३३ वर्षको जेल सजाय सुनाइएको थियो । इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार उनले भ्याक्सिन लगाएको तस्वीर पोस्ट गरेसँगै अमेरिकीहरुले सामाजिक संजालमा आक्रोश पोखेका छन् ।

सरकारले कैदीहरुलाई पहिले भ्याक्सिन लगाउने निर्णय गर्नुको पछाडि रोकिएका कानुनी प्रक्रिया सजिलै अगाडि बढुन् भन्ने सोच भएको बताइएको छ । कोरोनाका कारण कैयौं मुद्दाहरुको सुनुवाइ रोकिएको छ । अहिलेसम्म अमेरिकामा २ करोड ६० लाखलाई भ्याक्सिन दिइएको छ । सेप्टेम्बर ११ आक्रमणका बेला न्यूयोर्कका फयर कमिश्नर रहेका टम वनले सरकारको निर्णय मुर्खतापूर्ण भएको बताए । रिपब्लिकन सांसद एलिस स्टिफनिकले अमेरिकाका वृद्धवृद्धालाई भन्दा पहिले दोषी ठहर भएका आतंकवादीलाई भ्याक्सिन दिनु गलत भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *