खानेपानीले ल्यायो खुशी

डिसी नेपाल
१९ माघ २०७७ २०:११

डोटी। डोटी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–३ देउकाँडामा पहिलो पटक खानेपानी पुगेको छ । गाउँमा वर्षौपछि खानेपानी पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।

खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँवासी गाउँमा खाने पानी पुगेपछि निकै खुशी भएको स्थानीयवासी धर्मबहादुर लुहारले बताए। गाउँपालिका तथा क्षेत्रीय खानेपानी कार्यालयको सहयोगमा उक्त वडामा खानीपानी पुर्याइएको हो । उक्त गाउँपालिकाका सबैजसो वडामा खानेपानीको चरम समस्या हुँदै आएको छ । खानेपानीको सङ्कट भोग्दै आइरहेका देउकाँडावासीमा घरघरमा धारा पाएपछि खुसीयाली छाएको हो ।

गाउँको पँधेरामा पानी आउन छाडेपछि तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुवाउन त परै जाओस् राम्रोसँग कपडा धुन र भान्सामा प्रयोग गर्न समस्या हुँदै आएको स्थानीयवासी जगत्रा कामीले दुखेसो पोखे। वडा भरका सबै गाउँमा अहिले खानेपानी आएपछि यहाँका स्थानीयवासीले बारीमा साग, तरकारीलगायत फलफूल उत्पादन गर्न शुरु गरेका छन् ।

“पानी नहुँदा तरकारी किनेर खानुपर्ने समस्या हटेको छ”, गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, “देउकाँडा तरकारीको राम्रो पकेट क्षेत्र हो, पानी नहुँदा तरकारी उत्पादन गर्न समस्या थियो, अब पानीको समस्या समाधान भएको छ, किसानले तरकारी उत्पादन गर्न शुरु गरेका छन्, यो राम्रो पक्ष हो ।”

घरैमा आउन थालेपछि अहिले त्यहाँका नागरिकको खानेपानीका लागि जोहो गर्नुपर्ने समस्या समाधान भएको गाउँपालिका उपाध्यक्ष मिना विष्टले बताइन्। खानेपानी आएपछि यहाँका बासिन्दाको जीवनशैलीमा परिवर्तन आउन थालेको उनको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *