प्रचण्ड–माधव समूहको आमहड्तालः ओली समूहसँग मुठभेडको जोखिम

डिसी नेपाल
२१ माघ २०७७ १६:५१

काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलन गरिरहेको नेकपाको एक समूह प्रचण्ड–माधव समूहले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको छ। यो समूहको आमहड्ताल घोषणाको सोझो प्रभाव नेकपा (ओली) समूहको शुक्रबार राजधानी काठमाडौंमा हुने ‘शक्ति प्रदर्शन’ पर्ने देखिएको छ।

प्रधानमन्त्री तथा नेकपा (ओली)का अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै २३ गतेको आमसभालाई शक्ति प्रदर्शनका रुपमा लिने बताइसकेका छन्। प्रचण्ड–माधव समूहले माघ ९ गते काठमाडौं केन्द्रित विरोधसभा गरेपछि प्रधानमन्त्री ओलीले राजधानीमा २३ गते त्यसभन्दा धेरै मानिस सडकमा उतार्ने घोषणा गरेका थिए।

बुधबार संवैधानिक आयोगका पदाधिकारीलाई शपथ ग्रहण गराएको विरोधमा प्रचण्ड–माधव सहूले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको हो। शुक्रबारको ‘शक्ति प्रदर्शन’का लागि बिहीबार नै विभिन्न जिल्लाबाट मानिसहरु राजधानीका लागि हिँड्ने र बिहीबार आमहड्ताल घोषणा गरिएकाले ओली समूह र प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडपको स्थिति आउन सक्ने जोखिम बढेको सुरक्षा अंगका उच्च अधिकारीहरुले बताएका छन्। नेपाली सेना स्रोतले भन्यो, ‘दुबै समूहका कार्यक्रम हेर्दा भिडन्त हुने संकेत देखिएको छ। कुनै अप्रिय घटना हुन सक्छ। बुधबार साँझैबाट मुठभेड हुने सम्भावना देखिन्छ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठाको विषय बनाएको शुक्रबारको आमसभाका लागि देशका लगभग सबै जिल्लाबाट मानिसहरु ओसार्ने तयारी छ। काठमाडौं नजिकका जिल्लाबाट मात्र नभएर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर १ बाटसमेत काठमाडौंमा मानिसहरु ल्याउने तयारी भइरहेका बेला प्रचण्ड–माधव समूहले आमहड्तालको घोषणा गरेपछि मुठभेडको जोखिम बढेको हो।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले प्रहरीले शान्ति सुरक्षा दिने बताए। उनले भने, ‘आयोजकहरुले शान्तिपूर्ण कार्यक्रम गर्छौ भन्नु भएको छ। प्रहरी शान्ति सुरक्षाका लागि तयार छ।’ प्रहरीले प्रचण्ड–माधव समूहको आमहड्ताल घोषणापछि सबै जिल्लामा प्रहरीलाई उच्च सतर्कतामा राखेको छ।

कोरोनालाई विर्सिए दलहरुले

कोरोनाकालमा संक्रमणबाट जोगिन सरकारले मोबाइलको कल ब्याक रिङ टोनमासमेत सामाजिक दुरीबारे सचेतनामुलक विज्ञापन गरिरहेको छ। तर, सत्ता पक्ष र विपक्षी दलहरुभने जतिसक्यो धेरै मानिसहरुलाई सडकमा उतार्ने गैरजिम्मेवार प्रचपञ्चमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिनिधिसा विघटनपछि सबै दलहरुले सडकमा प्रदर्शन र ठूल्ठूला राजनीतिक सभाहरु गरिरहेका छन्। सत्ता पक्षीय दल नेकपा (ओली) समूहले पुस ५ यता लगभग देशका मुख्य शहरमा र जिल्ला सदरमुकाममा राजनीतिक सभा आयोजना गरेको छ। त्यस्तै प्रचण्ड–माधव समूहले पनि सोहीअनुसार सबै जिल्लामा र काठमाडौंलगायतका सबै ठूला शहरमा विरोधसभा गरेको छ। उता काँग्रेसले भने वडासम्म विरोधसभाहरु आयोजना गरेको छ।

जनता समाजवादी, विवेकशील साझा, राप्रपालगायतका दलहरुले पनि मानिसहरुको भीडभाड हुने राजनीतिक कार्यक्रम गरिरहेका छन्।

त्यसमाथि ओली समूहले जनसभा आयोजना अघिल्लो दिन आमहड्ताल नै घोषणा भएकाले यसको जोखिमलाई थप बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *