नारायणहिटी अगाडि उभिएर ओलीले गरे गणतन्त्रका कुरा

उपेन्द्र शाही
२३ माघ २०७७ २१:१३

काठमाडौं । धेरैलाई लागेको थियो शुक्रबार नेकपाको ओली समूहले नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोधी समूहलाई तिखो आलोचना गरेर हसाउँछन्। तर, त्यसो भएन्। वाक पटुतामा चतुर प्रधानमन्त्री ओलीले प्राय धेरै कार्यक्रमहरुमा ठट्यौली पारामा विरोधी पक्षको कडा आलोचना गर्थे। त्यसैले पनि आमसभामा उपस्थित धेरैले सोचेका थिए, प्रधानमन्त्री ओलीले ठ्ट्यौली पारामा हसाउँछन्। प्राय कमै मान्छेहरु मात्रै नेतााका भाषण सुन्न रुचाउँछन्।

शुक्रबार प्रधानमन्त्री ओलीको सम्बोधनलाई धेरैले ध्यान पूर्वक सुनिरहेका थिए। टाढा–टाढा बसेका मान्छेहरु पनि कोचाकोच रहेको भिडमा प्रधानमन्त्रीको भाषण सुन्न तछाड–मछाड गरेर स्टेचको नजिक जान खोजिरहेका थिए। भाषणको अधिकांश समय विरोधीको खरो आलोचना गर्ने प्रधानमन्त्री ओली शुक्रबार भने अलि भिन्न रुपमा प्रस्तुत भए।

उनले आमसभालाई सम्बोधनको धेरै समय सरकारले गरेका कामको बखान गरे। इतिहासकै ठूलो जनसभा भएको दावी गरिएको सभामा बोल्दै प्रधानमन्त्री ओलीले आफू गणतन्त्र र संघीयताको पक्षमा रहेको दावी गरे।

प्रधानमन्त्री र कार्यक्रममा बोल्ने अन्य नेताहरुको भाषणबाट संसद विघटनको औचित्य पुष्टि गर्न खोजिएको थियो। उनीहरुले आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले काम गर्न नदिएको भन्दै प्रतिनिधिसभा भंग गरि जनादेशमा जानु परेको बताए।

पछिल्लो समय प्रधानमन्त्री ओलीले पशुपतिमा गएर पूजा गरेको प्रसंगलाई पनि विशेष महत्वकासाथ हेरिएको थियो। कतिपय मान्छेहरुले आजको जनसभाबाट प्रधानमन्त्रीले हिन्दु राज्य, राजसंस्था र विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गर्नेलगाएतका केही विशेष निर्णय घोषणा गर्ने अनुमान गरेका थिए। उनले उक्त अनुमान विपरित आफू गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

इतिहासकै ठूलो भनिएको जनसभा कति ठूलो?

प्रधानमन्त्री ओलीले काठमाडौंमा शुक्रबारको सभा इतिहासकै ठूलो जनसभा भएको दाबी गरे। उनले भ्रम फिजाउने तत्वहरुलाई चिरेर जनसभामा खडा भएको भन्दै नेता कार्यकर्ताको प्रशंसा समेत गरे। दुई लाख जनता सडकमा उतार्ने लक्ष्य लिएको नेकपा ओली समूहको भेलामा करिव ५० हजार मानिसको उपस्थिति रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले ५० हजार मानिसको उपस्थिति भएको भनिएको जनसभामा ७० हजारको उपस्थिति भएको तथ्याङ्क नेपाली सेनासँग छ। नेपाली सेना र नेपाल प्रहरीको फरक–फरक भए पनि नारायणहिटीको दक्षिण गेटमा स्टेज बनाइएको सभाको त्रिकोणमा मानिसको घुईँचो देख्न पाइन्थ्यो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले दिएको जानकारी अनुसार नेकपा ओली समूहका मात्रै ३ सय ८१ वटा रिर्जभ गाडी काठमाडौं उपत्यका भित्रिएका छन्।

टिट फर ट्याट

गत माघ ९ गते प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा विशाल प्रर्दशन गरेको थियो। उक्त सभाको १३ दिन पछि ओली समूहले त्यसको जवाफ धेरै कोणबाट दिएको छ। ९ गतेको सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको गैर संवैधानिक कदमका विरुद्ध तेस्रो जनआन्दोलनको सुरुवात भएको बताएका थिए। शुक्रबारको सभामा ओलीले इतिहासकै ठूलो सभा बताउँदै संसद विघटनको आवश्यक्ता र औचित्य स्पस्ट पार्ने प्रयास गरे।

प्रचण्ड–नेपाल समूहको सभामा १ लाख मान्छे उतार्ने दावी गरिएको थियो। नेपाल प्रहरीले दिएको जानकारी अनुसार उक्त सभामा करिव ३० हजार मान्छे सहभागि थिए। यस्तै शुक्रबार ओली समूहले आयोजना गरेको भेलामा त्यसको दोब्बर २ लाख मान्छे उतार्ने दावी गरिएको थियो। जसमा नेपाल प्रहरीको तथ्याङ्कअनुसार करिव ५० हजार र नेपाली सेनाको तथ्याङ्कअनुसार ७० हजार मान्छेको उपस्थिति रह्यो।

यस्तै, सामाजिक सञ्जालमा व्यापक विरोध गरिएको सोफाको जवाफ पनि सामान्य कुर्सी राखेर दिइएको थियो। प्रचण्ड–नेपाल समूहले भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रममा नेताहरुलाई बस्नको लागि सोफा राखिएको थियो भने ओली समूहले नारायणहिटी संग्रहालय अगाडी आयोजना गरेको सभामा सामान्य कुर्सी राखिएको थियो।

यस्तै, प्रचण्ड–नेपालको सभाबाट ट्राफिक अस्तव्यस्तताका कारण सर्वसाधारणले दुख पाएको भन्दै चर्को आलोचना भएको थियो। ओली समूहले शुक्रबार आयोजना गरेको सभामा भने त्यो समस्याको पाठ सिकेर धेरै हदसम्म समाधान खोजिएको थियो।

प्रचण्ड–नेपालको सभामा धेरै मानिसहरु तराई क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका थिए। महिलाको संख्या कम देखिन्थ्यो। ओली समूहको भेलामा भने देशका धेरै भेग प्रतिनिधित्व गर्ने मान्छेहरु उपस्थित थिए। जसमा महिलाको संख्या पनि उल्लेख्य देखिन्थ्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *