कविता : अनाथ रचनाको आमा-स्मृति

प्रकाशचन्द्र खतिवडा
१६ साउन २०८३ ७:५६

रूखहरू नांगिएका छन्

उराठलाग्दो छ दिन

घामलाई तुवाँलोले खाएको छ,

रात चकमन्न छ

ताराहरू झुण्ड-झुण्ड देखिन्छन्

पोतिएको अनुहार छाम्दै जून मौन छ।

रचना छाती पिटेर रुन्छे

उसकी आमा अकालमै मरेकी छे,

बाबुको पत्तो-खबर केही छैन

उ त अर्कै स्वास्नी टिपेर हिँडेको छ!

भाइ ‘पापा’ भनेर रुन्छ

रचना अन्यमनस्क छे-

कसरी जुटाउने पापा?

कसरी जुटाउने नाना?

रचनाको भविष्य तुहिएको छ

ऊ आफैँ अनाथ बनेकी छे।

टाइफाइडले थलिएकी रचनाकी आमालाई

स्वास्थ्यचौकी लगिदिने कोही नभएपछि,

झाँक्रीकै फुकफाकमा भर परेर

जीवन बाँच्ने आशा गर्दै

इष्टदेवता पुकारी

हात फैलाएर प्रार्थना गरिरहे।

इष्टदेवता विवेकहीन रहेछन्

उनीहरूको प्रार्थना नसुनी,

साठी साल वैशाख एक गते

रचनाकी आमाको इहलिला समाप्त भयो।

मान्छेहरू नयाँ वर्षको उत्साहमा थिए

जबकि रचना गहिरो शोकमा डुबेकी थिई।

घातक बनेर आयो नयाँ वर्ष

चुँडेर लग्यो लालाबालाको भविष्य,

रचना र भाइ घण्टौँसम्म रोइरहे-

आमा बोल्दै नबोलेपछि!

एकोहोरो शङ्ख फुकियो

लास बाँधियो,

टीला र बुर्की नभेटिएपछि

मलामीहरू उदास देखिए।

चुङ्गेमा हाल्ने दूध थिएन

रित्तै चुङ्गे लिएर शवयान उठाइयो।

बाईस वर्षपछि-

रचना र सागर तन्नेरी भए

आमाको नाममा चौतारीमा फलैँचा हाले,

कुलो खनाए,

धारो बनाए,

अक्षयकोष स्थापना गरे,

वर-पीपल रोपे।

कालान्तरपछि पुरानो घाउ मेटिनुपर्ने

अँह, मेटिएन पुरानो घाउ!

आमाको तस्बिरअगाडि राखी

रचना र सागर घुँडा टेकेर

आशीर्वाद थाप्न बस्छन्,

रचना र सागर निराश मुद्रामा उठ्न विवश छन्-

आमाको स्नेही हात शिरमा नपरेपछि!

सुन्दरहरैँचा-६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *