वैशाखमा निर्वाचन हुँदैन्ः डा. सुरेन्द्र केसी

डिसी नेपाल
२४ माघ २०७७ १७:०७

काठमाडौं । राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले तोकिएकै मितिमा कुनैपनि हालतमा निर्वाचन नहुने भन्दै बरु आगामी मंसिरमा निर्वाचन हुनसक्ने स्पष्ट पारेका छन् । शनिरबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकोले यस विषयमा बाहिर टिकाटिप्पणी गर्न नहुने धारणा राखे । तर, दलका नेताहरुले भने बाहिर जथाभावी टिप्पणी गरेको उनको गुनासो छ ।

साक्षात्कार कार्यक्रममा बोल्दै उनले मंसिरमा निर्वाचन गराउनको लागि चुनावी सरकारको नेतृत्व नागरिक समाजका अगुवाई डा. सुन्दरमणि दिक्षितलाई दिनुपर्ने पनि बताए । उनले भने,‘मेरो नेता उहाँ हो । हामी निश्पक्ष निर्वाचन गराउन सक्छौं । तर, मुलुकलाई निकास चाहियो नि । अहिलेको समयमा डा. दिक्षित उपयुक्त पात्र हो । मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाईँदैन् । अदालतको निर्णय चाँडो हुनुपर्छ । सबैले यो निर्णय मान्नुपर्छ ।’

उनले जसको कारण संसद विघटन भएको हो आज उनीहरुले नै अदालत र निर्वाचन आयोगलाई धम्की दिईरहेको भन्दै नेकपाको दाहाल–नेपाल समूहप्रति आक्रोश पोखे । उनले भने,‘दलका नेताहरु आज निर्वाचन आयोग पुगेर चुनाव चिन्ह हामीलाई दिईनस भने ठिक हुँदैन् भनेर धम्की दिईरहेका छन्। यो गलत हो ।’ उनले मुलुक नियन्त्रण र सन्तुलनको सिद्धान्तमार्फत चल्नुपर्नेमा त्यसो नभएको पनि गुनासो पोखे ।

उनले अहिलेको विवाद उत्पन्न हुनुमा सबैभन्दा बढि दोष संविधानको भएको भन्दै संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने थियो भन्दै नेकपामा दुई अध्यक्ष भएकोमा व्यंग्यात्मक टिप्पणी गरे । उनले भने,‘संविधान सबभन्दा ठूलो त्रुटी हो । यिनीहरुले संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्दथ्यो । एकजनाले आन्तरिक गृह चलाउने र अर्कोले विदेश हेर्ने गर्नुपर्दथ्यो । यिनीहरुले पार्टीमा त दुई जना अध्यक्ष बनाए । तर, दुई जना प्रधानमन्त्री हुने व्यवस्था गरेको भए अहिले लडाईँ नै हुँदैनथियो ।’

उनले सत्तारूढ नेकपाको विवादको चुरो नै पदीय भागबण्डा भएको पनि तर्क गरे । उनले नेकपाले अहिले आएर लोकतन्त्रमाथि नाँगो नाँच देखाएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभावबारे कुरा गर्दै प्रतिशोध साँध्ने व्यक्तिको रुपमा चित्रण गरे । उनले भने,‘ओलीमा प्रतिशोधी भावना छ । उनी शक्तिको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् ।’ उनले निर्वाचन त हुने तर त्यो निर्वाचन वैशाख १७ र वैशाख २७ गते भने नहुने दाबी गरे । उनले भने–‘निर्वाचन हुने÷नहुने हाम्रो हातमा पनि छ । निर्वाचन भए अब मंसिरमा हुन्छ । तर, वैशाखमा कुनै पनि हालतमा हुँदैन् ।’

उनले मुलुक मध्यावधि निर्वाचनमा जानुको प्रमुख कारण प्रधानमन्त्री ओली देखिएपनि भित्री कारण प्रचण्ड नै भएको आरोप लगाए । उनले भने,‘उनीहरुबीच अढाई÷अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति थियो । तर, उनीहरुले त्यो सहमति गोप्य राखे । केपी ओलीले दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरेपछि र दश वर्ष अझै बाँच्ने भएकोले यो बबण्डर भएको हो । समस्याको जड हो ।’ उनले देशमा आफूमात्रै पद नपाई लुखुर लुखुर हिँड्ने मान्छे भएको सुनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *