जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही

रासस
२४ माघ २०७७ २३:३९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबिनिवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा बदमासी भए कारवाही गरिने चेतावनी दिएकी छन् ।

भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई आज यहाँ निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन् । “एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही हुन्छ ।” उनले भनिन् ।

“तपाईंहरूले निश्चित अधिकारमात्रै दिइएको छ”, उनको भनाइ थियो, “ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ”, उनले भनिन् । मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलिया सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् ।

उनले भनिन्, “पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरूलाई प्रभावित बनाउने समूह आउँछ”, उनको स्पष्ट भनाइ थियो, “यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।” आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन् ।

सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । कूल २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम प्रयास गरिएको जानकारी दिइन् ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको काँधमा रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । आयोगको कामले सरकारको छवी देखिने भएकाले बिचौलिया र दलालबाट हुने चलखेलप्रति सचेत रहन अपिल गरे ।

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूमाथि कूल नौ लाखभन्दा बढीलाई जग्गाको लालपुर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *