म्यानपावर विरुद्ध उजुरीका चाङ, आक्रामक विभाग

डिसी नेपाल
२५ माघ २०७७ ८:५४
372
Shares

काठमाडौं। पछिल्लो समयमा वैदेशिक रोजगार विभाग ठगी गर्ने म्यानपावरविरुद्ध कडा रुपमा उत्रिएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहाल ठगी गर्ने संस्थालाई कारवाही गरी पीडितलाई न्याय दिन कुनै कसर नछोड्ने अडानमा छन्।

तरपनि ठगी गर्ने म्यानपावरको संख्यामा कुनै कमी आएको छैन। दैनिकजसो पीडितहरु फलानो म्यानपावरबाट ठगिए भनि उजुरी लेखाउँन पुग्छन्।

विभागले संस्थागत रुपमा गत साउनदेखि पुससम्म विभिन्न म्यानपावरलाई कारवाही र धेरै पीडितको उद्धार गरेको छ। विभागमा गत साउनदेखि पुससम्म एक सय ८७ वटा संस्था अर्थात् म्यानपावरविरुद्ध उजुरी परेको थियो। जसमध्ये दाबी रकम पाँच करोड ६१ लाख ६९ हजार नौ सय ४६ हजार रुपैयाँ रहेको छ।

म्यानपावरले राहदानी दिएन भनेर आउने ४० जना व्यक्तिहरुको राहदानी विभागले फिर्ता गराइदिएको छ। क्षतिपूर्ति, राहत, उद्धार आदि विषयमा विभागले नौ सय ८६ जना पीडित र पिडक दुबै पक्षलाई राखेर छलफल गराएको समस्याको समाधान गरेको छ। त्यस्तै, विभागमा बीमा सिफारिस संख्या पाँच सय २७ रहेको छ।

विदेशमा समस्यामा परेका पीडितका आफन्त आदि आएर गुनासो गरेपछि विभागले विभिन्न देशमा रहेका राजदूतावासमा कुटनैतिक पहलका लागि सिफारिस गरेको संख्या ८९ रहेको छ भने २५ वटा म्यानपावर कम्पनीलाई जरिवाना गरेको छ।

विभागले ठगी गरेका म्यानपावर संस्थाबाट ४४ लाख रुपैयाँ जरिवाना गराइ पीडितलाई क्षतिपूति दिलाइदिएको छ भने पीडित र पिडक हामी मिल्यौ भन्दै आउने अर्थात् पीडितले मैले रकम पाए भनि भराएको बिगो–फरफाक रकम ६० लाख ५५ हजार पाँच सय रुपैयाँ रहेको छ।
विभागले ७९ उजुरीको फरफाक गरेको छ। त्यस्तै, कल सेन्टरबाट प्राप्त भएको उजुरी ५२ जसमा १२ वटा उजुरीको समस्या समाधान भइसकेको छ।

विभागले संस्थागत रुपमा गत साउनदेखि पुससम्म विभिन्न म्यानपावरलाई कारवाही र धेरै पीडितको उद्धार गरेको छ। विभागमा गत साउनदेखि पुससम्म एक सय ८७ वटा संस्था अर्थात् म्यानपावरविरुद्ध उजुरी परेको थियो। जसमध्ये दाबी रकम पाँच करोड ६१ लाख ६९ हजार नौ सय ४६ हजार रुपैयाँ रहेको छ।

विदेशमा काम गर्न गएको अवधिभित्र दुःख पाए भनेर विभागमा सूचना आएपछि विभागले सम्बन्धित म्यानपावरलाई उद्धार गर्नु भनि चिठ्ठी लेखेको संख्या ५० रहेको छ।

त्यस्तै, विभागले आकस्मिक/नियमित रुपमा इजाजत प्राप्त १८ वटा संस्था (म्यानपावर) को अनुगमन गरेको छ। विभागले यो माघ महिनामा भने ठगीमा संलग्न भएका म्यानपावरविरुद्ध तिब्र रुपमा अनुगमन गरेको छ।

सर्वसाधारणलाई सबै कुरा थाहा हुँदैन र वकिल राखेर पनि काम गरेका हुँदैन तर प्राय म्यानपावरले वकिलसँगको सहकार्यमा सर्वसाधारणलाई ठग्ने गरेको बताउने विभागको राहत तथा उद्धार शाखाका निर्देशक महेन्द्र भट्टराई भन्छन्, ‘कानुनले प्रमाण खोज्छ तर पीडितले प्रमाण नराखि पैसा दिन्छन्। हामीसँग भाटे कारवाही गर्ने अधिकार त छैन्? वास्तवमा उ पीडित हो, उसँग आँशु बाहेक अरु केहि पनि छैन तर पनि हामी सहयोग गर्न सक्दैनौं। उसको वास्तविक आँसुलाई कानुनले त मूल्य दिँदैन?’

‘प्रायजसो पीडितले उदाहरणका रुपमा श्यामप्रसाद भन्ने व्यक्तिलाई पैसा दिन्छ। त्यो मान्छे म्यानपावरकै हो, तर उ संस्थागत कहि पनि देखिदैन्। पैसा लिउनजेलसम्म श्यामप्रसाद म्यानपावरको हुन्छ जब विदेश जाने मान्छेले पैसा दिइसकेपछि म्यानपावरले त्यो श्यामप्रसादलाई चिन्दिन भन्छ। यस्ता समस्या धेरै छन्। फेरि विदेश जाने श्रमिकले म्यानपावर त्यो मान्छेको हो कि होइन भनेर सर्वेक्षण पनि गर्दैन।’

निर्देशक भट्टराई भन्छन्, ‘श्यामप्रसाद भन्ने मान्छेले मेरो खाता यहि हो, यसैमा पैसा हालिदे भन्छ, हालिदिन्छन् खातामा पैसा। पछि पीडित भइसकेपछि उसले तपाईंको म्यानपावरको मान्छेलाई यति पैसा हालिदिएको छ, फिर्ता गर्नु भन्दा त्यो म्यानपावरले हामी श्यामप्रसाद भनेको को हो चिन्दैनौं भनिदिन्छ। पीडितले मैले म्यानपावरमै गएर अफिसकै मान्छेको खातामा पैसा हालिदिएको हो भन्छन्।’

यस्ता किसिमका ठगी म्यानपावरले धेरै गर्ने गरेको गुनासो गर्दै निर्देशक भट्टराई भन्छन्, ‘पैसा उठाउने श्यामप्रसादलाई खोजौं न त भन्दा पनि उनीहरुले पैसा लिदा सापटी, व्यापार आदिमा हस्ताक्षर गर्न लगाएर लिएको हुँदो रहेछ। त्यसमा वैदेशिक रोजगार मात्रै लेखिदिएको भए हामी समाइहाल्छौं तर त्यस्तो हुँदैन। वास्तवमा पीडित हो, उसले पैसा पनि म्यानपावरकै मान्छेलाई हालिदिएको छ तर कानुनले पछाडि छ।’

व्यापार, सापटीको भौचर भएको केस विभागले हेर्न नमिल्ने भएकोले सरकारी निकायले जारी गरेको सूचना हेरेर, बुझेर मात्रै विदेश जान आग्रह गर्दै निर्देशक भट्टराई भन्छन्, ‘विदेश जाने युवाले म्यानपावरको खातामा पैसा हालेपछि त म्यानपावरले सापटी, ऋण आदि जेसुकै लेखेपनि त्यसमा छुट हुँदैन।’

खातामा पैसा हाल्दा कानुनले तोकेबमोजिम मात्रै पैसा हाल्ने आग्रह गर्दै उनले सधैं विभाग र पत्रकारको मात्रै पछि लागेर हुँदैन, मान्छे आफै सचेत हुन आग्रह गरे।

‘हुनत अत्यन्तै सर्वसाधारण भएकाले गाउँका सोझासाझा मान्छेलाई सरकारले जारी गरेको सूचना थाहा पनि हुँदैन। र, उनीहरुलाई म्यानपावरसम्म पुर्याउने गाउँकै दलाल नै हुने पनि गर्छन्।’ निर्देशक भट्टराई भन्छन्, ‘अन्तर्वार्ताबाट छनौट भएकाले मात्रै भीसा प्रक्रियाको लागि पासपोर्ट लिने र दिने गर्नुपर्छ। तर म्यानपावरले अनेक बाहना गरी पासपोर्ट पहिलै लिइसकेका हुन्छन्।’

उनी भन्छन्, पीडितको अर्को समस्या भनेको, ‘३० लाख मात्रै धरौटी भएका म्यानपावरहरु खारेज भइसके। तर उसले पठाएका मान्छे विदेशमा अझै छन्। तिनीहरुले पैसा उठाएर नपठाएका मान्छे पनि छन्। ३० लाख भित्रका उजुरी आयो भने त हामी धरौटीबाट कटाएर क्षतिपूर्ति दिन सक्छौं। तर कहिले काहि ३० लाख भन्दा बढीको पनि उजुरी आउछ। त्यस्तोमा चाहिँ के गर्ने भन्ने विषयमा छलफल गरिराखेका छौं।’

३० लाख धरौटीमा दाबी ४७ लाख आएको खण्डमा विभागले प्रतिशतको आधारमा क्षतिपूर्ति दिने गरेको बताउने निर्देशक भट्टराईले धरौटी सकिएको खण्डमा अप्ठ्यारो हुने बताए। उनले पैसा खर्च गर्ने बेलामा जानेर बुझेर, त्यो मान्छे वा संस्था विश्वसनीय हो कि होइन, सम्बन्धित देशको लागि राज्यले कति तोकेको छ आदि सबै बुझेर मात्र पैसाको कारोबार गर्न वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आग्रह गरे। साथै, उनले पैसा दिएको प्रमाण लिन सबैलाई सुझाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *