आन्तरिक पर्यटक आउने आशामा ठमेल

डिसी नेपाल
२६ माघ २०७७ ११:३१

काठमाडौं। राजधानीको मुटु मानिने पर्यटन क्षेत्र ठमेल यतिबेला ठप्प जस्तै बनेको छ। आन्तरिक र वाह्य पर्यटकले सधैं अस्तव्यस्त रहने ठमेल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावले सुनसान बन्न पुगेको छ।

सरकारले कोरोनाका कारण देशभर लकडाउन घोषणा गरेसँगै पर्यटनलगायत सबै क्षेत्र ठप्प भएका थिए र हालसम्म पनि व्यवसायीहरु उत्तिकै चिन्तामा छन्। अन्तर्राष्ट्रिय उडान सुरु नगरेसम्म पर्यटन क्षेत्रमा विकास नहुने औन्योलमा अहिले पनि उनीहरु रहेका छन्।

विगत दुई वर्षदेखि होटल रोड हाउसमा कार्यरत इन्चार्ज शेखर पाण्डेले सरकारले लकडाउन जारी गरेसँगै विगत पाँच महिनासम्म बन्द रहेको होटल तिहारपछि खोलेको गुनासो गरे। नजिकिँदै गरेको ‘भ्यालेन्टाइन डे’मा आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न अफर ल्याउने जनाउँदै पाण्डेले डिसी नेपालसँग भने, ‘यसअघि क्रिसमस र अंग्रेजी नयाँ वर्षमा पनि आन्तरिक पर्यटक सोचेभन्दा धेरै आएका थिए। ‘भ्यालेन्टाइन डे’मा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न अफर ल्याएका छौं।’

कोरोना भाइरस माहामारीले थलिएको पर्यटन क्षेत्र ठमेल यतिबेला भने विस्तारै आन्तरिक पर्यटकहरुलाई नै आकर्षित गर्ने तर्फ लागिपरेको छ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटक अपेक्षाभन्दा बढी आएपछि उत्साहित बनेका ठमेल क्षेत्रका होटल व्यावसायीहरुले भ्यालेन्टाइनलाई लक्षित गर्दै विभिन्न अफर ल्याउने बताएका छन्।

यतिबेला ठमेलका व्यावसायी नाफा कमाउने भन्दा पनि पेशामा टिकिराख्ने उपायको खोजीमा छन्। लामो समयदेखि व्यापार व्यवसाय बन्द हुँदा व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन थालेपछि आन्तरिक पर्यटकलाई मात्रै ल्याउन सकेपनि पलायन हुनुपर्ने स्थिति नआउने आशामा छन्।

अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म विदेशी पर्यटनहरु आउने आशा के गर्नु?, भन्दै पाण्डेले यसअघि युरोपका पर्यटक धेरै आउने गरेको तर कोरोनाका कारण यतिबेला नेपाली र भारतीय पर्यटक मात्र आउने गरेको बताए।

उनका अनुसार अहिले व्यवसायीहरु ३० देखि ४० प्रतिशत घाटामा रहेका छन्। उनले अब सामाजिक संजालमार्फत कोठाको मूल्यदर घटाउने, प्याकेजहरु बुस्ट गर्ने र आन्तरिक पर्यटकहरुलाई विशेष ध्यान दिनेतर्फ लाग्नु पर्नेमा जोड दिए।

‘यसअघि महँगीका कारण विदेशी पर्यटन निकै कम आउँथे तर मूल्यदर घटेसँगै अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन्’, भन्दै पाण्डेले बैशाखबाट विदेशी पर्यटकहरुको लागि पनि ट्राभल एजेन्सीहरुसँग कुरा भइरहेको बताए। साथै, कोरोना भाइरसको खोप लगाउने प्रक्रिया छिटो सकिए विदेशी पर्यटक आगमन बढ्नेमा उनी विश्वस्त देखिन्थे।

यतिबेला ठमेलका व्यावसायी नाफा कमाउने भन्दा पनि पेशामा टिकिराख्ने उपायको खोजीमा छन्। लामो समयदेखि व्यापार व्यवसाय बन्द हुँदा व्यवसायी पलायन हुनुपर्ने अवस्था आउन थालेपछि आन्तरिक पर्यटकलाई मात्रै ल्याउन सकेपनि पलायन हुनुपर्ने स्थिति नआउने ठमेलस्थित होटल मण्डपका एक कर्मचारीले गुनासो पोखे।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ठमेलका होटल व्यावसायीले भारी छुटको व्यवस्था गरेका छन्। उनीहरुले ८० डलरमा उपलब्ध गराउने कोठा अहिले ४० देखि ४५ डलरसम्म दिन थालेका छन्।

कोरोनाको खोप आए पनि विदेशी पर्यटकहरु नआएसम्म व्यापार बढ्ने होइन्?, भन्दै ती कर्मचारीले अन्तर्राष्ट्रिय उडानहरु नखोलेसम्म अप्ठ्यारो परिस्थिति नघट्ने बताए।

उनले भने, ‘सरकारले लकडाउन जारी गरेसँगै हामीले अहिलेसम्म होटल सुचारु गरेका छैनौं तर अब फागुन १ बाट सुचारु गर्न लागेका छौं।’ उनका अनुसार नेपालमा कोरोनाको खोप आएसँगै पर्यटकको आगमन पनि सुरु हुनु पर्यो अनि मात्र पर्यटन क्षेत्र राम्रोसँग चल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *