पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने प्रक्रिया सुरु,शिवरात्री अगाडि पूरा गरिने
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा शिवजीको मूर्तिमा एक सय ४१ किलोको सुनको जलहरी राख्ने प्रक्रिया सुरु गरेको छ। क्षेत्र विकास कोषले सोमबारदेखि पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने प्रक्रिया सुरु गरेको हो।
माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै सुनको जलहरी राख्न सरकारले ३० करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएका थिए। प्रधानमन्त्रीको प्रतिवद्धतासँगै पशुपति क्षेत्र विकास कोषले जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको थियो।
पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए। कोषले नेपाल राष्ट्र बैंकसँग सुन खरिद गरी सुनको जलहरी राख्ने प्रक्रिया सुरु गरेको हो।
‘राष्ट्र बैंकसँग सुन खरिद गरेर पशुपतिनाथमा सुनको जलहरी राख्ने प्रक्रिया सुरु भएको छ,’ निर्देशक डा.खतिवडाले डिसी नेपालसँग भने, ‘नेपाली सेनाको सुरक्षाभित्र सुनको जलहरी राख्ने काम हुन्छ, हामी सकेसम्म महाशिवरात्री भन्दा अगाडि नै जलहरी राख्ने काम पूरा गर्छौं।’
नेपाली बृहत् शब्दकोशका अनुसार जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो, जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्।
हाल चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको छलफल तथा परामर्शपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा कोष पुगेको हाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment