प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन, पूर्वसभामुख नेम्वाङद्वारा उद्घाटन

डिसी नेपाल
२६ माघ २०७७ १४:५६

काठमाडौं। नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्च बेलायत सङ्गठनको पुनर्गठन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरिएको छ।

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले एक सय २५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्य केन्द्रिय कार्यसमिति गठन गरेको मञ्चका पूर्वअध्यक्ष रामशरण सिंखडाले जानकारी दिए।

बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटेर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ। यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहेका छन्।

१२ जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्वएमालेका तर्फबाट र महासचिवमा पूर्वमाओवादीका तर्फबाट रूपमा सुरेशजङ्ग शाह रहेका छन्। यसअघि अध्यक्ष रहेका राजेन्द्र पुडासैनी संस्थागत मूल्यमान्यता भुलेर प्रचण्ड–माधव नेपालको समूहको गलत नीतिको वकालत गर्दै हिँडेपछि मञ्चको पुनर्गठन गर्नुपरेको वक्ताको भनाइ थियो।

कार्यक्रममा यो नै बेलायतको आधिकारिक सङ्गठन रहेको जनाइएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारिकरुपमा उद्घाटन गर्दै पूर्वसभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताए।

कार्यक्रममा गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले यो कदम चाल्नुभएको र अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गराउने बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *