लण्डनबाट राजदूत डा.सुवेदी स्वदेश फर्किए, नवनियुक्त राजदूत रेग्मी फागुन पहिलो साता जाने

डिसी नेपाल
२७ माघ २०७७ ११:३१

काठमाडौं। बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुबेदी आफ्नो कार्यकाल पूरा गरी आइतबार दिउँसो कतार एयरवेजमार्फत स्वदेश फर्किएका छन्। राजदूत सुवेदीलाई लण्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका कर्मचारीले त्यहाँको विमानस्थलबाट विदाई गरेका थिए।

गत सेप्टेम्बर महिनामै आफ्नो चारवर्षे कार्यकाल सकिएपनि कोरोना महामारीलगायत नयाँ राजदूत नियुक्ति प्रक्रियामा ढिलाइ भएपछि उनको बसाइ थप लम्बिएको थियो।

राजदूत सुवेदीले आइतबार दिउँसो एक विज्ञप्ति मार्फत जानकारी गराउँदै भनेका छन् ‘संयुक्त अधिराज्य (बेलायत) आयरल्याण्ड, र माल्टाका लागि नेपाली राजदूतका रुपमा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी म आफ्नी पत्नी पुनमका साथ आज (यहि माघ २५ गते, फेब्रुअरी ७) का दिन स्वदेश फर्किरहेको छु। राजदूतका रुपमा नेपाली राजदूतावासमा रहंदा मलाई प्राप्त मित्रता, स्नेह, आत्मीयता, एवम् सहयोग र सद्भावनाका लागि आदरपूर्ण आभार र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

साथै, नेपाल पुगेपछि पनि सम्पर्कमा रहने बाचा गर्दै मित्रता, सुसम्बन्ध, र आत्मीयता सदासर्वदा कायम रहने बताउँदै बेलायात, आयरल्याण्ड र माल्टाबासी सम्पूर्णमा सुख, सुस्वास्थ्य, समृद्धि, शान्ति र प्रगतिको कामना गरेका छन्। बेलायती समाजमा लोकप्रिय बनेका सुवेदीको पछिल्लो एक वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थिति नदेखिए पनि भर्चुअल रुपमा सक्रिय नै रहे।

सन् २०१६ सेप्टेम्बर महिनामा बेलायतका लागि २०औं नेपाली राजदूतका रुपमा डा.सुवेदी बेलायत गएका थिए। बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए गरेका डा.सुबेदीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा एमपीए र त्रिविबाटै ‘आधुनिक नेपालको परराष्ट्रनीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्।

उनी नेपाल सरकारको परराष्ट्र सेवामा ३२ वर्षदेखि निरन्तर सेवारत छन्।  आफ्नो कार्यकालमा उनले लन्डन दूतावासको सेवा सुविधालाई थप सहज र चुस्त बनाए। उनले निकै अघिदेखिको भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए।

साहित्यिक नाम ‘दुबसु क्षेत्री’का नामले परिचित राजदूत सुवेदीले आफ्नो चार वर्षे कार्यकालमा विशेषगरी बेलायती समाजमा नेपाली साहित्य र कला क्षेत्र उनकै पहलले निकै विकास भएको सम्बन्धित क्षेत्रका मानिसहरु बताउँछन्।

आफ्नो कार्यकालमा बेलायतमा भएका र गरेका साहित्यिक सृजना तथा यसको विकासप्रति आफू शतप्रतिशत सन्तुष्ट रहेको राजदूत सुवेदीले स्वीकारेका छन्। सुवेदीको संयोजन र सम्पादनमा छ वटा कृतिहरु ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका छन्।

सुवेदीले सुप्रसिद्ध आइरिस कवि माइकल डी हिगिन्सका प्रतिनिधि कवितालाई पनि नेपाली तथा अंग्रेजीमा अनुवाद तथा सम्पादन गरेर प्रकाशित गरेका छन्। हिगिन्स आयरल्याण्डका वर्तमान राष्ट्रपति हुन्।

गीतसंगीतको क्षेत्रमा पनि उनले दुईवटा म्यूजिक भिडियो तयार पारेका छन्। उनले समाजका हरेक पाटालाई सम्बोधन गर्ने प्रयास गरेका छन्। सुवेदीको कार्यकालपछि बेलायतको नयाँ राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी भने फागुन पहिलो साताभित्रै लन्डन पुगिसक्ने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *