भिजिट भीसामा रोजगारी खोज्नेतिर नलाग्न यूएईस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं। नेपालबाट पछिल्लो समय भिजिट भीसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई काम गर्ने क्रम बढेपछि अबुधाबीस्थित नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ।
पछिल्लो समय भिजिट भीसामा आउनेहरु ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको तथा अन्य विभिन्न अप्ठ्याराहरु आइपरेको लगायतका गुनासो पुगेपछि दूतावासले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
नियम अनुसार श्रम स्वीकृति नलिई रोजगार भीसाबाहेक भिजिट भीसा वा अन्य भीसामा विदेश रोजगारी गर्न पाइने कानुनी व्यवस्था नरहेकाले विभिन्न झमेला व्यहोर्नु पर्ने दूतावासले प्रष्ट्याएको छ।
साथै, त्यस्ता व्यक्तिलाई खान, बस्न समस्या भएमा, ठगीमा परेमा अथवा बिरामी वा मृत्यु भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग नपाइने जनाएको छ।
काम खोज्ने अभिप्रायले भिजिट भीसामा यूएई नआउन आग्रह गर्दै दूतावासले भिजिट भीसामा काम गर्ने प्रलोभनमा पर्ने व्यक्ति अलपत्र पर्ने, त्यस्ता व्यक्तिलाई प्रतिबन्धित मुलुकमा लैजाने वा मानव तस्करको सञ्जालमा पर्नेसक्ने जोखिम आदि हुनसक्ने जनाएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment