‘जनयुद्ध’लाई प्रचण्डले सत्तामा पुग्ने भर्‍यङ बनाए, अब सबै जिम्मा सरकारले लिन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१ फागुन २०७७ १७:२५

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले ‘जनयुद्ध’लाई सत्तामा पुग्ने भर्‍याङ बनाएको आरोप लगाएका छन्। नेकपा ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले ‘जनयुद्ध’लाई भर्याङ बनाएको तर आफूले जिम्मा लिने बताए।

‘जनयुद्ध’ दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले पूर्व माओवादी लडाकुलाई आफूतर्फ आकर्षित गर्न पनि ‘जनयुद्ध’को जिम्मा आफूले लिने बताएका हुन्। नेकपा विभाजन भएसँगै पूर्व माओवादी लडाकुलाई आफूतर्फ तान्न दुबै समूह तछाडमछाड गरिरहेका छन्। र दुबै समूहले उनीहरुलाई फकाइरहेका छन्। यस्तो अवस्थामा शनिबार प्रधानमन्त्री ओलीले जिम्मा लिने बताउनुलाई महत्वका साथ हेरिएको छ।

कार्यक्रममा बोल्दै उनले ‘जनयुद्धलका पीडित र प्रभावितहरुको सुरक्षा, संरक्षण र राहातको उचित प्रबन्ध सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे। क्रान्ति र परिर्वतनका नाममा प्रचण्डले झुटा सपना देखाएको उनको भनाइ छ। ‘जनयुद्ध’बाट प्रभावित घाइते, बेपत्ता र बेपत्ता पारिएका परिवारको उचित राहतको जिम्मा सरकारले लिने बताए। उनीहरुका लागि सम्मान र परिचयपत्रको काम भइरहेको जानकारी दिँदै उनले शरीरमा गोली बोकेकाहरुलाई उपचार र रोजगारी समेतको उचित प्रबन्ध सरकारले गर्ने बताए।

यस्तै प्रधानमन्त्री ओलीले सरकारले केही पनि काम गरेन भनेर झुट फिजाउने तत्वहरु सक्रिय रहेको भन्दै आफू नेतृत्वको सरकारले गएका तीनवर्षमा गरेका काम र प्रगति फागुन तीन गते सिंहदरबारबाट पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिए।

खुट्टा तान्नेहरुले लामो समय केही पनि गर्न नदिएको बताउँदै उनले विरोधी तत्व अलग भएपछि पार्टी एकीकृत सुर्दिढ र गतिशिल भएको बताए।

उनले आफूबाट छुट्टिएर गएकाहरुलाई ५० लाख मत घटाएर देखाउन चुनौति दिएका छन्। विभिन्न भेलाहरु गरेर आफूलाई मान्छे हेर्न भनिएको भन्दै चुनावमा गएर बाकसका भोट एक एक गरेर गणना गरिने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्ट र निर्मला पन्तका हत्यारालाई पानी मुनि गए पनि नछोड्ने चेतावनी दिए। पन्तको दुई वर्षअघि हत्या भएको थियो भने भट्टको हत्या भएको एकहप्ताभन्दा धेरै भइसकेको छ। तर, यी दुबै घटनामा प्रहरी अहिलेसम्म कुहिरोको काग जस्तै बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *