३ महिनाको लागि एउटै हथकडीमा बाँधिए जोडी, हथकडी खुल्ने छैन र सबै काम यत्तिकै गर्नेछन्

डिसी नेपाल
४ फागुन २०७७ १३:२६

काठमाडौं। युक्रेनको एक युवा जोडीले निकै अनौठो प्रयोग गर्नको लागि एक अर्कासँग एउटै हथकडीमा बाँधिएका छन् । जोडीले यो प्रयोगको सुरुवात भ्यालेन्टाइन डेका दिन गरेका हुन् । अब उनीहरु तीन महिनासम्म एक अर्कासँग बाँधिएर रहनेछन् । यो अवधिमा कुनै पनि समय हथकडी खोलिने छैन र उनीहरुले सबै काम यत्तिकै गर्नुपर्नेछ ।

अलेक्जेण्डर र भिक्टोरिया नामका यी जोडीले आफ्नो सम्बन्धलाई कम्फर्ट जोन अर्थात सहज परिस्थितिबाट बाहिर निकाल्न चाहन्छन् र कठिन परिस्थितिमा उनीहरुको सम्बन्ध टिक्न सक्छ कि सक्दैन भन्ने हेर्न चाहन्छन् । उनीहरु आगामी तीन महिनासम्म यसरी नै बाँधिएर रहनेछन् र यो अवधिमा उनीहरुले आफूहरुका हरेक दैनिक काम एक अर्काको सहारामै पूरा गर्नुपर्नेछ ।

युक्रेनको नेशनल रजिस्टर अफ रेकर्डसकी कर्मचारी तथा यो प्रयोगका सुपरभाइजर भिटाली जोरिनका अनुसार यो जोडीले पूर्ण होसहवासमा यो प्रयोग गर्ने निर्णय गरेका हुन् । यो जोडीले भ्यालेन्टाइन डेका दिन युक्रेनको राजधानी किभमा यो प्रयोग सुरु गरेका हुन् । डेलीमेलको रिपोर्टअनुसार यो जोडीको पहिलो चुनौती त्यतिबेला आएको थियो जतिबेला उनीहरु घरबाट ३२५ माइल टाडा ट्याक्सी चढेर गएका थिए र त्यहाँ उनीहरुले पुरुष वा महिला सार्वजनिक शौचालयमध्ये कुनै एक रोज्नु परेको थियो ।

उनीहरुले साथमा महिला शौचालयमा जाने निर्णय गरे । यो देखेर त्यहाँका सरसफाइकर्मी चकित परेका थिए । केही भिडियोमा अलेक्जेण्डर र भिक्टोरिया खास किसिमको कपडा लगाएका देखिएका छन् जुन कपडामा माथिदेखि तलसम्म चेन लगाइएको थियो ताकि दुवैलाई कपडा फेर्न कुनै समस्या नहोस् ।

यो जोडी आफूहरुले सुरु गरेको चुनौती पूरा गर्न सक्नेमा विश्वस्त छ । व्यक्तिगत स्पेसको कमीका कारण आगामी समय दुवैका लागि निकै कठिन हुने कुरा उनीहरुलाई थाहा छ । जोरिनका अनुसार यो तीन महिनाको अवधिमा यदि उनीहरु एक अर्कासँग छुट्टिन चाहे भने उनीहरुलाई आकस्मिक सेवाका विशेषज्ञको आवश्यकता पर्नेछ ताकि विशेषज्ञले उनीहरुको हथकडी खोलेर उनीहरुको हात छुट्याउन सकुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *