भागरथी हत्या प्रकरणः तीन शंकास्पद व्यक्ति पक्राउ

डिसी नेपाल
४ फागुन २०७७ २२:०५

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कारपछि हत्या भएको डेढ साता बितेपछि प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । हत्यारा पत्ता नलागेसम्म शव नबुझेपछि प्रहरीले अनुसन्धानलाई तिव्रता दिएका बेला केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो ।

प्रहरी स्रोतका अनुसार बैतडी, महेन्द्रनगर तथा डडेल्धुराबाट गरी तीन जनालाई नियन्त्रणमा लिएको भएपनि प्रहरीले व्यक्ति नियन्त्रणमा लिएको बारे कहीँ कतै सार्वजनिक नगरी गोप्य राखेको छ । सुदरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले प्रहरीले अपराधीको पिछा गरिरहेको र केही दिनमा पक्राउ गर्ने बताएपनि उनले केही व्यक्तिहरु नियन्त्रणमा लिएको विषय भने अस्वीकार गरे । केही मान्छेहरु सोधपुछका लागि नियन्त्रण लिने कुरा सामान्य भएको पनि उनले बताए ।

भागिरथिको हत्यापछि हत्यारा पत्ता नलागेसम्म आफन्तको अडान लिएपछि उनको अझै अन्त्यष्टि हुन सकेको छैन । उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । दोषीले उन्मुक्ती पाएर भागरथीले न्याय पाउँदिनन् भनेर आफन्तले अपराधी पक्राउ नपरे सम्म शव नबुझ्ने अडान लिएका हुन् । हिन्दू संस्कार अनुसार मृत्यु भएकाको बिधिपुर्वक अन्त्यष्टी गरेर १३ दिनमा काज किरियाको काम गरि सिध्याईने गरिन्छ । हत्यारा पत्ता लाग्न नसकेको कारण भागरथीको हत्या गरिएको १४ दिन सम्म पनि अन्त्यष्टिसमेत हुन सकेको छैन् ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा दोश्रो दिन माघ २२ गते साँझ ५ बजे लवलेक सामुदायिक बनमा कच्चीवाट वाट ५० मिटर तल उनको शव फेला परेको थियो । माघ २३ गते उनको शव जिल्ला अस्पताल बैतडी लगिएको थियो । उनको पोष्टमार्ट रिपोर्टमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको अनुसन्धानले देखाएको छ । मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले भागीरथिको हत्यारा चाँडै नै पत्ता लाग्ने बताएका थिए । महिला कानुन व्यवशायीहरुको भेटमा उनले सो कुरा बताएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *