‘बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले’

डिसी नेपाल
६ फागुन २०७७ २२:०६

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् ।

आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर आज दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।

यस्तै आजै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भने, “पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।”

लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भिरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत दिनेशले बयान दिएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ । बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *