१७ दिनपछि भागरथीको शव आफन्तले बुझे, महाकालीमा दाहसंस्कार

डिसी नेपाल
७ फागुन २०७७ १६:१९

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दाहसंस्कार गरिएको छ।

भागरथीको मृत्यु भएको १७औँ दिनमा दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा दाहसंस्कार गरिएको हो।
यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदीसम्म शव यात्रा निकालिएको थियो। भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो। भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो।

गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनामा संलग्नको पहिचान हुनुपर्ने माग गर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए। भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो।

त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन। बिहीबार दिनेशका बुबा, अनुसन्धान अधिकृत र सरकारी वकिलसामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *