सुरक्षा ग्यारेन्टी नभए पाकिस्तानले भारतमा टी २० विश्वकप नखेल्ने

डिसी नेपाल
९ फागुन २०७७ १३:४३

काठमाडौं । भारत र पाकिस्तान बीचको तनावपूर्ण सम्बन्धका कारण यी दुई देशले लामो समयदेखि एक आपसमा क्रिकेट प्रतियोगिता खेलेका छैनन। दुबै टोलीले आईसीसीको प्रतियोगितामा मात्र एक अर्काको सामना गर्ने गरेका छन। भारतले यस वर्ष हुने टी २० विश्वकप आयोजना गर्नुपर्नेछ। यस्तो अवस्थामा पाकिस्तानका खेलाडीहरूले भारत भ्रमण गर्न भिसा पाउने छन् कि छैन ? यस मुद्दामा भारतको तर्फबाट स्पष्ट रूपमा कुनै भनाई सार्वजनिक भएको छैन। यद्यपि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष एहसान मणीले उनीहरुको टोली, सर्मथक र पत्रकारहरुले भिसा नपाएको खण्डमा उनीहरूले अन्य राष्ट्रमा वर्ल्ड कप आयोजना गर्न आईसीसी समक्ष माग गर्ने बताएका छन ।

टी २० विश्वकप गत वर्ष अक्टोबरमा आयोजना हुने तय भएकाे थियो। तर कोरोनाको कारण आईसीसी द्वारा यो प्रतियोगिता स्थगित गरियो। यसपछि नयाँ कार्यक्रम अनुसार भारतलाई स्थगित टी २० विश्वकपको आयोजना गर्ने जिम्मा दिइएको छ। जबकि २०२२ मा भारतमा आयोजना हुने टी २० विश्वकप अष्ट्रेलियालाई हस्तान्तरण गरिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मणीले भने, “भारतले आगामी टी २० विश्वकपको लागि हाम्रो टोली, सर्मथक र पत्रकारहरुलाई भिसा दिने लिखित आश्वासन नदिएसम्म प्रतियोगिता युएईमा आयोजना गर्न आईसीसी समक्ष माग गर्नेछौं।” लाहोर स्थित पीसीबी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै मणिले बोर्डले आईसीसीलाई आफ्नो धारणा दिई सकेको बताए ।

उनले भने, “बिग थ्रीको मानसिकता परिवर्तन गर्न आवश्यक छ। हामी राष्ट्रिय टोलीलाई मात्र नभई हाम्रा प्रशंसकहरू, अधिकारीहरू र पत्रकारहरूलाई पनि भिसा दिन लिखित ग्यारेन्टी मागिरहेका छौं।” मणिले भने, “हामीले आईसीसीलाई भनेका थियौं कि मार्चको अन्त्यसम्म हामीलाई लिखित आश्वासन चाहिन्छ, अन्यथा हामी भारतको सट्टा युएईमा विश्वकप आयोजना गर्ने माग गर्नेछौ।” टी २० विश्वकप भारतमा अक्टुबर–नोभेम्बरमा आयोजना हुने भएको छ। मणिले भने “हामीहरु बीसीसीआईबाट पाकिस्तानको सम्पूर्ण टोलीको सुरक्षा व्यवस्थाको बारेमा लिखित आश्वासन चाहन्छाैं ।”

भारत र पाकिस्तान बीच क्रिकेटको सम्बन्ध राम्रो रहेको छैन। पछिल्लो पटक पाकिस्तानी टोली सन २००७ मा भारत भ्रमण गरेको थियो। सन २००८ को मुम्बई हमला पछि दुई टोलीबीच २०१२–१३ मा एक मात्र द्विपक्षीय श्रृंखला खेलियो। त्यसपछि यी दुई देश बीच कुनै द्विपक्षीय श्रृंखला खेलिएको छैन। यद्यपि दुबै टोली आईसीसी विश्वकप र च्याम्पियन्स ट्रफीमा प्रतिस्पर्धा गर्दै आएका छन्। पछिल्लो समय दुबै टोलीले इङल्यान्ड भएको एकदिवसीय विश्वकप क्रिकेटमा एक अर्काको सामना गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *