फुलबुट्टे सारी : केही मीठो केही तीतो

डिसी नेपाल
९ फागुन २०७७ १६:००
1.2k
Shares

वरिष्ठ कलाकार मिथिला शर्मा र मदन कृष्ण श्रेष्ठ अभिनित फुलबुट्टे सारी म्युजिक भिडियोले चर्चा र प्रशंशाका साथै लैंगिक असमानता भएकोआरोप पनि पाइरहेकोले, यसमा के रैछ भनी उत्सुकता जाग्यो । सो भिडियो हेरेपछि यसको प्रस्तुतीमा रहेका सकारात्मक र धेरै सोँचमा कमी हुन गएका पक्षहरूका बारे मलाई पनि केही लेख्न मन लाग्यो ।

सर्वप्रथमत: प्रेमलाई केवल युगल जोडीसँग मात्र गाँसेर म्युजिक भिडियोहरू छ्यापछ्याप्ति बनाइने ट्रेन्डलाइ छोडेर, एक वयस्क जोडीको प्रेम कथाको रूपमा छायांकन गरिएकोमा यस भिडियोले पक्कै मन छुन्छ । सन् 2014 मा मेरो बुवा गोपाल योञ्जनका सम्झनामा आयोजना गरिएको कार्यक्रममा गायक उदय सोताङ्गद्वारा लाइभ प्रस्तति गरिएको “यति चोखो, यति मीठो” गीतमा, एक युवा जोडी, अर्को ३० वर्ष नाघिसकेका जोडी र अन्तमा वयस्क जोडीको अभिनय प्रस्तुत गरिँदा-दर्शकबाट सबैभन्दा बढी ताली वयस्क जोडीले नै पाएका थिए । यस प्रस्तुतिमार्फत, हामीले प्रेमगीतको प्रस्तुतीमा सँधै राम्रा अनुहार र जीउडाल मिलेका युवा जोडी नै चाहिन्छ भन्ने भ्रमलाई चुनौती दिन चाहेका थियौं । फुलबुट्टे सारीको यस भर्सन पनि यस अर्थमा सार्थक र रमाइलो छ ।

तर, यही मन छुने बेसिक कन्सेप्टलाई अझ गहकिलो बनाउनमा चाहिं यस म्युजिक भिडियो चुकेको छ। एक वयस्क दम्पतीबीचको “प्रेम”लाई स्टीरियोटाइप तरिकामा प्रस्तुत गरिएको छ । हुनत कतिले भन्लान त्यो जेनरेशनका जोडीहरू यस्तै नै त हुन्छन नी । तर के हामीले यसबारे रिसर्च गरेका छौं र? यसबेला मेरो आँखा अगाडि ७० वर्ष उमेर नाघिसकेका विराटनगरका सीता र बालमुकुन्द पोखरेल दम्पतिको तस्बीर झलझली आइरहेको छ । एकपल्ट उहाँहरूसँग खाना खाने क्रममा, बालमुकुन्दजीले सीताजीलाई उनको औषधि ल्याइ मायाले हप्काइ खान दिनुभएको थियो । मलाइ त्यसबेला नै त्यो क्षणलाइ भिडियोमा कैद गर्न मन लागेको थियो । यस्ता कति जोडीहरू होलान् जसका आपसी माया र समझदारीबाट हामीले कति मनमोहक तथा व्यवहारिक पाठ सिक्न सक्छौं ।

यस भिडियोमा सधैँ श्रीमतीले नै श्रीमानको सेवा र स्याहार गरेको देखिन्छ । एकपल्ट श्रीमतीको कपाल कोरीदिने प्रयास गरेको जस्तो देखिन्छ- त्यो पनि असफलताका साथ । सधैँ सेवा मात्र नथापी आफ्ना कतिपय कामहरू आफै गरेको देखाएर, आफ्नी श्रीमती पनि थाकिन् होली भनी श्रीमतीप्रति संवेदनशीलता देखाइएको भए पनि यो भिडियो अर्कै स्तरको बन्ने थियो ।

हामीले यो बुझ्न जरूरी छ कि – माया वा प्रेमबाट दैनिक घरधन्दा र पारिवारिक जिम्मेवारी अलग विषय वस्तु हुन् । महिलाको अस्तित्वलाइ सधैँ सशर्त प्रस्तुत गरिने भ्रम/क्रम अब तोडिनु र रोकिनु पर्छ । बहुत बठ्याइका साथ महिलाको घरबारे दिनचर्यालाइ पनि उनको प्रेम भनी परिभाषित गर्दै आइएको छ । यो परिभाषाको जालमा हाम्रो समाज र सोँच अझै अल्झिरहेको छ । यी दुईलाई परिपूरकका रूपमा गाँसी, नारी महिमाका रूपमा प्रस्तुत तथा प्रचार गर्ने काम पौराणिक कथादेखि अहिलेका कथावस्तु, चलचित्र, तथा टेलिनाटकहरूले गर्दै आइरहेको छ ।

अर्को पक्षको सँधै तर्क के हुने गर्छ भने, यो त हाम्रो परम्परा हो, सँस्कृति झल्काउने र हामीले गर्व गर्ने पक्ष हो । यस तर्क अघि सार्नेहरूले के साँच्चैनै नेपालका विविध समुदायका सँस्कृतिक पक्षहरूका बारे जान्ने र बुझ्ने प्रयास गरेका छन् ? सत्ता र शक्तिमा हावी रहेको र रहन चाहने एक वर्गले चित्रण गरेको एक धारबाट थोपरिएका सोँचलाइ मात्र, अब हामीले हाम्रा सँस्कृति र परम्पराको मोहर ठोक्न कति मिल्ला ? यसका बारे एक छुट्टै बहस सञ्चालन गर्नु पर्ने हुन्छ ।

यस प्रकारका भिडियोका मुख्य पात्रहरूले यस प्रकारका स्टिरियोटिपिकल रोल निभाउन हुन्थ्यो वा हुन्नथ्यो भन्ने बारे प्रश्न गर्ने हो भने, उहाँहरू कलाकार भएका नाताले जस्तो निर्देशक वा कथावस्तुले माग्यो त्यस्तै भूमिका निभाउने न हो भनी तर्क गर्न सकिएला । तर खतरा यहिंनिर पनि छ । उहाँहरूलाई उच्च स्थानमा राखी प्रतिष्ठित कलाकार मात्र नभइ आदरणीयको स्थानमा राख्ने धेरै छन् जसमा म पनि पर्छु । यस प्ररकारको असन्तुलित लैंगिक भूमिकाले कतिलाई आफ्नो पुरातन सोँच ठीकै त रै छ नी भन्ने बढावा दिन सक्छ र कसैलाइ खिन्नता पुर्याउन सक्छ ।

तर उहाँहरूमाथि मात्र पनि सम्पूर्ण दोष थोपर्न चाहिं पक्कै मिल्दैन। मिडिया मार्फत कस्ता तस्बीरहरू गइरहेका छन् भन्ने बारे पर्दा अगाडि तथा पर्दा पछाडि बस्ने प्रत्येकले अब धेरै सोँच पुर्याएर मात्रै अगाडि बढ्नु पर्छ । अनि यस भिडियोकै सन्दर्भमा सोध्न मन लागेको अर्को प्रश्न -यसलाई “लेजेन्डरी भर्सन” भनी प्रचार प्रसार गरिएको छ । लेजेन्डरी केलाई भन्न खोजिएको होला? गीत स्वयंलाई वा वरिष्ठ कलाकारद्वयका कारण ? लेजेन्डरी बन्नलाई त धेरै अर्थमा उत्कृस्ट हुनका साथै पथ प्रदर्शक बन्न सक्नुपर्छ । के यस भिडियोले यी मापदण्डहरूलाई पूरा गर्न सकेको छ ?

महिलाका समान अधिकारका कुरा उठिरहेको युगमा हामीले कुनै पनि क्षेत्रबाट हुन गइरहेको विभेदपूर्ण बिचार तथा सार्वजनिक प्रस्तुतिहरूलाइ खुलस्त समालोचना गर्नु सक्नुपर्छ । हामी साँच्चै नै एक समान, सभ्य र सुरक्षित समाजको निर्माणतर्फ लाग्ने हो भने पितृसत्तात्मक संरचनाले हुकुम चलाइ आएको अवधाणाहरूलाइ बदल्ने आँट गर्नुपर्छ । नत्र हामी बर्षौंदेखिको साँघुरो सिकाई र खुम्चिएको बुझाइको भूमरीमा अल्मलिरहने छौं ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *