बलिउड अभिनेता सलमान खानलाई ठगी प्रकरणमा अदालतको नोटिस
काठमाडौं । बलिउडका ‘दबंग’ अभिनेता सलमान खान र उनकी बहिनी अलवीरा खान कानुनी फन्दामा परेका छन्। चण्डीगढमा ‘बिइङ ह्युमन’ ज्वेलरी शोरुम जोडिएको कथित ठगी मामिलामा एक ठूलो अपडेट आएको छ।
चण्डीगढको जिल्ला अदालतले सलमान खान, उनकी बहिनी अलवीरा र सम्बन्धित कम्पनी ‘स्टाइल एन्ड क्युन्टेन्ट ज्वेलरी प्राइभेट लिमिटेड’ का निर्देशकहरू लगायत अन्यलाई कानुनी नोटिस (लिखित आदेश) पठाएको छ। अदालतले उनीहरूलाई लगाइएको आरोपबारे आगामी अक्टोबर ५ सम्ममा लिखित जवाफ पेस गर्न र अदालतमा उपस्थित हुन आदेश दिएको छ।
यो मामिला मनिमाजराका बासिन्दा व्यवसायी अरुण गोयलद्वारा दर्ता गराइएको उजुरीको आधारमा अगाडि बढेको हो। ‘बिइङ ह्युमन’ ब्रान्डको नाममा ज्वेलरी शोरुम खोल्ने क्रममा आफूमाथि ठगी गरिएको र त्यसबाट करोडौँ रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको आरोप उनले लगाएका छन्।
उजुरीकर्ता अरुणका अनुसार उनले मनिमाजराको एनएसी क्षेत्रमा करिब ३ करोड रुपैयाँको लागतमा बिइङ ह्युमन ज्वेलरीको शोरुम खोलेका थिए। त्यसका लागि उनले ‘स्टाइल एन्ड क्युन्टेन्ट ज्वेलरी प्राइभेट लिमिटेड’ सँग सम्झौता गरेका थिए।
कम्पनीका सबै सर्तहरूको पालना गरिएको र शोरुम तयार पार्न करिब १ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ। यसबाहेक स्टोरमा बिइङ ह्युमन ब्रान्डको ज्वेलरी पनि राखिएको थियो।
उजुरीमा कम्पनीसँग जोडिएका ६ जना व्यक्तिले गलत आश्वासन दिएर आफूलाई शोरुम खोल्न लगाएको आरोप लगाइएको छ। शोरुम सञ्चालनमा आएपछि कम्पनीको तर्फबाट कुनै पनि सहयोग प्राप्त भएन।
उजुरीकर्ताको यो पनि आरोप छ कि जुन स्टोरबाट आफूहरूलाई बिइङ ह्युमन ब्रान्डको ज्वेलरी आपूर्ति हुनुपर्ने थियो, त्यो स्टोर फेब्रुअरी २०२० देखि नै बन्द अवस्थामा छ। यसै कारण नयाँ सामान पाउन नसक्दा आफ्नो व्यापार प्रभावित भएको उनको गुनासो छ।
पीडित अरुणले भने, “मलाई ३ करोडको नोक्सानी भएको छ। म २०२१ मा प्रहरीकहाँ गएको थिएँ, तर उनीहरूले सिभिल कोर्ट जान सुझाव दिए। त्यसैअनुसार मैले २०२३ मा अदालतमा मुद्दा दायर गरेँ। मैले सबै प्रमाण र कागजातहरू बुझाएको छु। ३ करोड रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी र शारीरिक तथा मानसिक तनाव मैले झेल्नुपरेको छ।”
अदालतबाट जारी गरिएको यस नोटिसबारे हालसम्म खान परिवारको तर्फबाट कुनै पनि आधिकारिक प्रतिक्रिया आएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment