५ बलले बदलियो २ क्रिकेटरको जीवन, एउटा मालामाल अर्को कंगाल

डिसी नेपाल
१० फागुन २०७७ १०:३५

काठमाडौं। इण्डियन प्रिमियर लिग विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज टि–२० लिग मानिन्छ । यो लिगबाट कैयौं खेलाडीहरुले राष्ट्रिय टिममा स्थान बनाएका छन् । कैयौं खेलाडीहरुले यही लिगबाट अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका छन् । आफ्नो देशको लागि राम्रो प्रदर्शन गरेका खेलाडीहरुले यो लिगमा महंगो कूल्य पनि पाएका छन् । आइपिएलको २०२० सिजनको एक खेलले दुई खेलाडीको जीवन पूरै बदलिदिएको छ ।

आइपिएलको त्यो खेल २०२० को सेप्टेम्बर २७ मा शारजाहमा भएको थियो । पहिले ब्याटिङ गरेको किंग्स ११ पंजाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रनको विशाल स्कोर खडा गर्यो । राजस्थान रोयल्सले जीतको लागि २२४ रनको लक्ष्य पायो । १७ औं ओभर सकिँदासम्म राजस्थानले ३ विकेटको क्षतिमा १७३ रन बनाएको थियो र जीतको लागि उसलाई १८ बलमा ५१ रन आवश्यक थियो ।

१८ औं ओभर त्यही ओभर थियो जसले खेल पूरै उल्ट्याइदियो । १८ औं ओभरमा राजस्थानले एकै ओभरमा ३० रन बनायो । वेष्ट इण्डिजका बलर शेल्डन कटरेलको यो ओभरमा भारतीय अलराउण्डर राहुल तेवतियाले ६ मध्ये ५ बलमा छक्का हाने । यससँगै राजस्थान रोयल्सको जीत निकै सहज देखियो । यो त्यही ओभर हो जसले राहुल तेवतिया र शेल्डन कटरेल दुवैको जीवन पनि पूरै बदलिदियो ।

यो खेल भएको साढे ४ महिनापछि अहिले यो ओभरको प्रभाव देखिएको छ । राहुल तेवतियाले राष्ट्रिय टिममा स्थान बनाएका छन् भने शेल्डन कटरेललाई यो सिजनको आइपिएलको लागि अक्सनका कुनै पनि टिमले किनेनन् । जबकि उनै कटरेललाई अघिल्लो सिजन किंग्स ११ पंजाबले ८ करोड ५० लाख दिएको थियो । तेवतियाले भने यही ओभरको प्रदर्शनका कारण राष्ट्रिय टिममा डेब्यू गर्न पाउने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *