महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी

डिसी नेपाल
१० फागुन २०७७ १४:३४
308
Shares

काठमाडाैं। गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन्।

यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ। सोका लागि केन्द्रीय कार्यालयसँग रु २८ लाख ६५ हजार ३७६ माग गरिएको छ।

साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ। नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ। साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ।

कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो।

कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ। महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *