कोरोनाबाट बेलायतमा एक नेपालीको मृत्यु, विदेशमा कूल ३३६ नेपालीको मृत्यु

डिसी नेपाल
१० फागुन २०७७ १५:०६

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एक जना नेपालीको मृत्यु भएको छ। संयुक्त अधिराज्य बेलायतमा एक जनाको मृत्युसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या तीन सय ३६ पुगेको छ।

एनआरएनअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ हजार एक सय २० जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, स्वास्थ्य समितिमा आवद्ध चिकित्सकहरुले लामो समयको अध्ययन र परिक्षणपश्चात प्रयोगमा ल्याइएकोले खोपहरु सुरक्षित रहेको बताएका छन्। हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको बताउँदै उनीहरुले अहिले प्रयोगमा ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन्।

बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी संक्रामक छन्। स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ।

विभिन्न दीर्घ रोगको औषधी सेवन गरिरहेका व्यक्तिले पनि खोप लिन सक्ने समितिले जनाएको छ। तर गर्भवती महिला, स्तनपान गराउने महिला र तुरुन्त गर्भवती हुन योजना बनाइरहेकाहरूलाई खोप नलगाउन भनिएको छ।

१८ वर्ष मुनिकालाई पनि खोप सिफारिस गरिएको छैन्। साथै, खोप लगाउनु भन्दा अगाडि आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग सल्लाह गर्न समितिले भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *