एनआरएनए साउदीले नेपालीको उद्धारमा खर्चियो ५० लाख

डिसी नेपाल
११ फागुन २०७७ १५:३९

कठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले समस्यामा परेका नेपालीको उद्धारको लागि एक लाख ६५ हजार चार सय ४७ साउदी रियाल (५० लाख रुपैयाँभन्दा बढी) खर्च गरेको छ। कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि एनआरएनए साउदीले उक्त रकम खर्च गरेको हो।

एनआरएनए साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका, रोजगार गुमेर स्वदेश फिर्ताका लागि समस्यामा परेका एक सय सात जनाका लागि पिसीआर टेष्ट, ८२ जनाको लागि हवाई टिकटको व्यवस्था, पाँच सय ३७ जनाको लागि खाद्यान्न व्यवस्थासँगै सयौंको संख्यामा नेपाली श्रमिकहरुलाई पैरवी पहल, कानुनी परामर्शसहित साउदी अरेबियाका विभिन्न शहरहरुमा आउटेज क्यामपिङ एवम् पासपोर्ट सहजीकरणमा खर्च गरिएको हो।

संघद्वारा यस प्रोजेक्टको लागि हालसम्म ६२ लाख २४ हजार सात सय ८८ रूपैयाँ प्राप्त गर्नुको साथै साउदीमा अलपत्र परेका नेपालीको लागि एक लाख ६५ हजार चार सय ४७ साउदी रियाल सहयोग भएको छ। अब संघको कोषमा तीन लाख ४१ हजार ९५ रियाल बाँकी रहेको छ।

त्यसैगरी, एनआरएनए साउदीले आइएलओ प्रोजेक्टमा घोटला गरेको खबर फैलिएपछि भर्चुअल भेलासँगै प्रेस विज्ञप्तिद्वारा खण्डन गरेको छ। एनआरएन साउदीले गरेको आइएलओ प्रोजेक्टलगायत विविध गतिविधिप्रति बिना प्रमाण भ्रामक समाचार आएकोमा आपत्तिसमेत जनाएको छ।

साथै, दुस्प्रचार तथा भ्रामक अफवाह फैलाउनेप्रति खेद प्रकट गर्दै तत्काल छानबिन गरी कारवाही गर्न समेत माग गरेको छ। र, संस्थाले गरेका सामाजिक कार्यदेखि आर्थिक कारोबारबारे बुझ्न संस्थाको वेवसाइड अवलोकन गर्न समेत आग्रह गरेको छ। एनआरएनए आइएलओ घोटला प्रकरणमामा एनसीसी यूएईका अध्यक्ष र उपाध्यक्ष निलम्बित भइसकेका छन्।

साउदीमा श्रमिकको हकहितको लागि एनआरएनएले दूतावास, विभिन्न सामाजिक संघ संस्थासँग समन्वय गरी पीडितलाई सहयोग गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *