विभागद्वारा सिमाना इन्टरनेशनमा छापा, युवालाई क्रोएसिया पठाउने तयारी

डिसी नेपाल
१४ फागुन २०७७ १७:४५

काठमाडौं। वैदेशिक रोजगार विभागले गौशालास्थित बिजय चोकमा रहेको सिमाना इन्टरनेश्नल इम्प्लोइमेन्ट प्रालि (६२२÷०६३÷०६४)मा छापा मारेको छ। उक्त म्यानपावरको सामाजिक सञ्जाल फेसबुक पेजमा क्रोएसिया लाने भन्दै गरेको विज्ञापनको वास्तविकताबारे बुझ्न जाने व्यक्तिको सूचनाको आधारमा विभागले शुक्रबार छापा मारेको हो।

वैदेशिक रोजगार विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका शाखा अधिकृत चेतन कुमार खत्रीको नेतृत्वमा परिचालित टोलीले सिमाना म्यानपावरबाट एक थान ल्यापटप, एक थान कम्प्युटर, भिजिट भिसा र रोजगार सम्झौतासमेत भएको २९ पानाहरु, ६ वटा पासपोर्ट बरामद गरेको छ। पछिल्लो समय युवाहरुलाई क्रोएसिया पठाउने भन्दै केहि म्यानपावर कम्पनी र एजेन्टहरुले अनधिकृत रुपमा युवाहरुसँग रकम संकलन गर्दै आएका छन्।

अनुगमनका क्रममा अनुगमन टोलीका प्रमुख खत्रीले भने, ‘सामाजिक सञ्जालमा क्रोएसिया लैलान्छु भन्दै विज्ञापन गरेपछि उक्त विज्ञापन आधिकारीक हो कि होइन भनेर हेरी विभागमा बुझ्न गएपछि उक्त म्यानपावरको इजाजतपत्र विभागको वेबसाइटमा चेक गर्दा ब्लक देखियो। र, वास्तविक के हो भनेर हामी अनुगमन गर्न यहाँ आएका हौं। अनुगमनका क्रममा केहि प्रमाणहरु भेटिएका छन्। र, सामाजिक सञ्जालमा विज्ञापन पोष्ट गर्ने व्यक्तिसमेत यसै कार्यालयमा भेटिएका कारणले शंकास्पद देखिएको छ। यो सबै कुरा विशेष अनुसन्धानबाट अझ खुल्ने छ।’

विभागले सो म्यानपावरमा अनुगमन गर्दै गर्दा केहि युवा क्रोएसिया जानेको लागि बुझ्न समेत त्यहाँ आएका थिए। साथै, उक्त म्यानपावरको वास्तविक ठेगाना काठमाडौंको बसुन्धरा भएपनि हाल गौशालास्थित बिजय चोकमा बिना बोर्ड अफिस सञ्चालनमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *