विभागको अनुगमन टोली पोखरामा, म्यानपावर व्यवसायीको भागाभाग

रिता बस्नेत
१७ फागुन २०७७ १३:२६

काठमाडौं। अनुगमनका क्रममा यतिबेला वैदेशिक रोजगार विभागको अनुगमन टोली पोखरामा छ। विभागको अनुगमन टोलीले पोखरामा रहेका म्यानपावरहरुको गत बिहीबारदेखि अनुगमन गरिरहेको छ। अनुगमनकै क्रममा अधिकांश म्यानपावरका शाखा कार्यालय एकाएक बन्द गरी भागेका छन्।

पोखरामा प्रायजसो अवैद्य अन्तर्वार्ता गरेको फेला परेको छ। केही दिनका लागि विभागबाट अनुगमनका क्रममा खटिएका कुशल बरालसहितको टोलीले सुरुमा वैदेशिक रोजगारीका लागि पूर्व स्वीकृति बिनै एचआर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालिले अन्तर्वार्ता गरिरहेको पाएको थियो।

५० जनाभन्दा बढी युवाहरुलाई अन्तर्वार्ता गराउने तयारी भएको फेला पारेको अनुगमन टोलीले सोधपुछ गर्ने क्रममा त्यहाँ अन्तर्वार्ता दिन पुगेकामध्ये अधिकांश अन्य म्यानपावरमार्फत पठाइएका र एजेन्टहरुले अन्तर्वार्तामा पुर्याएका फेला पारेको थियो।

अनुगमनको क्रममा एचआर इन्टरनेशनल प्रालिको डिमाण्डमा अन्तर्वार्ता भने मार्भलस इम्प्लोईमेन्ट नेपाल प्रालिको पोखरास्थित शाखा कार्यालयले गराएको पाइएको बरालले बताए। सो अन्तर्वार्ता कतारमा सेक्युरिटी गार्डको लागि पठाउन गरिएको रहेछ।

पोखरामा वैद्य-अवैद्य र विभागबाट स्वीकृत भएका-नभएका म्यानपावरहरुले अन्तर्वार्ताको लागि आ–आफ्नो मान्छे पठाएको फेला पर्यो। हामीले केही अवैधानिकलाई मात्रै छापा हान्ने सोच थियो। तर यिनीहरुको नेटवर्किङ ठूलो हुँदो रहेछ। त्यही भएर अफिस बन्द गरेर यिनीहरुको भागाभाग भयो।

विभागबाट खटिएका अनुगमन अधिकृत बरालले भने, ‘पोखरामा वैद्य–अवैद्य र विभागबाट स्वीकृत भएका-नभएका म्यानपावरहरुले अन्तर्वार्ताको लागि आ–आफ्नो मान्छे पठाएको फेला पर्यो। हामीले केही अवैधानिकलाई मात्रै छापा हान्ने सोच थियो। तर यिनीहरुको नेटवर्किङ ठूलो हुँदो रहेछ। त्यही भएर अफिस बन्द गरेर यिनीहरुको भागाभाग भयो।’

पोखरामा अनुमगन टोली पुगेपछि अवैद्य रुपमा एजेन्टको कार्यालय खोलेर बसेको पाइएको अधिकृत बरालले बताए। उनले भने, ‘कसैको बोर्ड छ तर विभागबाट स्वीकृत छैन, तिनीहरुलाई चाहिँ होडिङ बोर्ड पनि हटाउन लगायौं। एक जनाले त गाडी रिजर्भ गरेरे दिउँसै अफिसको फर्निचर समेत लान भ्याए रे।’

दुई दिनमा लगभग १५ वटामा छापा हानेको जानकारी गराएका बरालले पीडितहरुसँग सहकार्य गरी अनुगमन गरेको बताए। उनका अनुसार पीडितका धेरै सूचनाहरु छन् तर सूचना अनुसार म्यानपावरहरु पत्ता लगाउन मुस्किल परिराखेको छ।

उनले भने, ‘नाम छ, एजेन्ट छ तर वैधानिक छैन तरपनि अफिस खोलेर बसेका छन्। कुन म्यानपावर कहाँ छ भन्ने सूचना छ तर समस्या भनेको त्यहाँ उनीहरुको बोर्ड छैन। कसैले ताला लगाएर राखेका छन्। यो घरमा म्यानपावर छ भन्ने चाहिँ थाहा भयो तर त्यो घरको कुन कोठामा म्यानपावर छ पत्ता लगाउन गाह्रो भयो। हामीलाई कुन कोठा वा कति वटा कोठा खोल्ने वा फोर्ने भन्ने समस्या भएको छ। खुल्ला भएको बेला समात्न पाएको भए फाइदा हुन्थ्यो तर हामी अनुगमन टोली आएको थाहा पाएपछि अर्थात् कहिलेसम्म हामी काठमाडौं फर्किदैनौं त्यो दिनसम्म उनीहरुले नखोल्ने जस्तो देखियो। र, कतिले त मोबाइल अफ गरेर बसेका छन्।’

म्यानपावर व्यवसायी तथा तिनका एजेन्टहरुले गरिब र सोझासाझा युवाहरुलाई फकाइ फुस्ल्याई गरी वैदेशिक रोजगारीको नाममा ठगी गर्दै आएका छन्। यस्ता वैदेशिक रोजगारको नाममा ठगी गरी गरिबलाई घर न घाटको अवस्थासम्म पुर्याउने अवैधानिक क्रियाकलापलाई वैदेशिक रोजगार विभागले नहेरेको खण्डमा अझ यसले विकराल रुप नलेला भन्न सकिन्न। भर्खरै मात्रै पोखरामा रहेको विभागको अनुगमन टोलीले समेत ठगी धन्दामा पोखरामा धेरै युवाहरु पीडित भएको जानकारी गराएको छ।

अनुगमन अधिकृत बरालले भने, ‘पोखरामा अलि बेहालै छ। जो स्वीकृति प्राप्त छन् उनीहरु चाहिँ सिस्टमै छन्। जसले स्वीकृत नलिइकन कोठाकोठामा म्यानपावर खोलेका छन्, उनीहरुले अवैद्य क्रियाकलाप गरिराखेका छन्। त्यसलाई नियन्त्रण कसरी गर्ने भन्नेमा चुनौती देखियो।’

पोखराको सटरसटर, कोठाकोठाबाट चलाएको म्यानपावरलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने प्रमुख चुनौतीको रुपमा देखापरेको बताउँदै बरालले भने, ‘एउटामा छापा हान्यो र अर्कोले सूचना पाउने वित्तिकै साँचो लगाएर भागि हाल्छ, उनीहरुको अफिस कोठा पनि थाहा नहुने। यसका लागि अब के गर्न सकिन्छ भन्ने एउटा ठूलो चुनौती भएको छ।’

एक वर्षसम्म पोखराको श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतमा धाउदा समेत नपाएकी एक जना बुढी आमाको डुबेको ५० हजार रुपैयाँ अनुगमन टोलीले पाँच मिनेटमै दिलाइदिएको छ। बरालले भने, ‘एक जना बुढी आमा म्यानपावर कार्यालयमा रुनु भयो, उहाँको पैसा हामीले पाँच मिनेटभित्र दिलाइदियौं। ती बुढी आमाले छोरालाई विदेश पठाउन खोज्नु भएको रहेछ। संयोगले ती बुढी आमाले हामीलाई भेटेर भन्नु भयो र हामीले पनि संयोगले पैसा खाने मान्छेलाई भेट्यौ। अनि हामीले पैसा फिर्ता दिने कि तपाईलाई पक्राउ पूर्जी जारी गरौं भनेपछि उसले पाँच मिनेटमा एटीएमबाट पैसा निकालेर दियो।’

त्यस्तै बिभागको अनुगमन टोलीले अन्यत्र दर्ता भएर पोखरामा संचालित अभिमुखीकरण संस्थाहरुको बोर्डहरु समेत हटाउन लगाएको छ। स्रोतका अनुसार पोखरामा एजेन्ट तथा म्यानपावरका शाखा कार्यालय चलाउनेहरुको ग्रुप नै छ। उनीहरुले भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर ग्रुपबाट एक अर्कोलाई सूचना दिने, डिमाण्डबारे जानकारी दिने लगायतको काम गर्ने गरेका छन्।

पछिल्लो समय विभागको अनुगमन टोलीले इटहरी, बिराटनगरमा अनुगमन गरिसकेको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभिन्न शाखा कार्यालयहरु रहेका स्थानहरुमा अनुगमन गर्ने र शाखा कार्यालयको अनुमति पाएकाले अवैधानिक कार्य गरेको पाइएमा संस्थागत रुपमा कानुनी कारवाही हुने र शाखा कार्यालयको अनुमति नपाएकाहरुको हकमा भने व्यक्तिगत ठगि अभियोगमै मुद्दा चलाइने बताएका छन्।

साथै, महानिर्देशक दाहालले उपत्यका बाहिर वैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलाउदो रुपमा रहेकोले नियमित अनुगमन गर्ने जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *