विभागद्वारा नेपाल म्यानपावरमा छापा, पैसा फिर्ता पाइने आशामा युवा

डिसी नेपाल
१९ फागुन २०७७ १६:०५

काठमाडौं। वैदेशिक रोजगार विभागले सिनामंगलस्थित नेपाल म्यानपावर प्रालिमा छापा मारेको छ। विभागको अनुगमन टोलीका प्रमुख चेतन कुमार खत्रीका अनुसार विभागले वैदेशिक रोजगारीको लागि उक्त म्यानपावरले अवैध अन्तरवार्ता लिइराखेको सूचनाको आधारमा छापा मारेको हो।

छापा मार्ने क्रममा नेपाल म्यानपावरबाट वैदेशिक रोजगारीमा जाने भन्ने हिसाबले आएका केहि युवाहरु त्यहाँ भेटिएका थिए भने सोही क्रममा तीन जना पीडित युवाहरु समेत त्यहाँ उपस्थित थिए। सोही म्यानपावरबाट ठगिएका तीन जना उपस्थित युवाहरु दाङका रहेछन्।

उक्त म्यानपावरका एजेन्टले तीन जनाबाट जनही दुई लाख आठ हजारका दरले रकम उठाएका रहेछन्। ती तीनै जना पीडित युवाहरु उक्त म्यानपावरमा अध्यारो मुख लगाएर बसिराखेका थिए। तिमीहरुको भिसा आयो भनि नक्कली भिसा मोबाइलमा पठाएपछि, उनीहरुले जनही दुई लाख आठ हजार बुझाएका रहेछन्। मलिन अनुहारमा देखिएका उनीहरु मध्ये एकले भने, ‘विभाग आएको छ, अब हाम्रो पैसा उठ्छ भन्ने केहि आशा लागेको छ।’

पीडित तीनै जनाले उक्त म्यानपावरको एजेन्टलाई दुबईको हस्पिटलमा क्लिनरमा काम गर्न जानको लागि पैसा र पासपोर्ट बुझाएका रहेछन्। भिसा नआई किन पहिल्यै पैसा बुझाउनु भयो भनि उनीहरुलाई सोध्दा एक पीडित युवाले मोबाइल देखाउदै भने, ‘भिसा पेपर भनेर देखाउनु भएको थियो। यहाँबाट हामीलाई म्यासेज गर्नु भयो, अनि होला भनेर पैसा बुझाएको हो।’

उनीहरुलाई उक्त म्यानपावरको एजेन्टले नक्कली भिसा आएको डिमाण्डको कागज देखाएर पैसा असुलेका रहेछन्। पीडितले मोबाइलमा भएको उक्त डिमाण्ड लेटर देखाउदै भने, ‘पैसा एजेन्टलाई दुई महिना अघि बुझाएको हो।’

पीडित युवामध्ये एक जनाले भने एजेन्टको खातामा पैसा हालिदिएका रहेछन्। तर, दुई जना युवाले भने हातैमा पैसा बुझाएकाले उनीहरुसँग पैसा बुझाएको रसिदसमेत रहेन छ।

वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर हेर्दा डिमाण्ड आएको छ कि छैन, भिसा हो होइन, कुन कम्पनीले कति जना मागेको छ, कति पैसा लाग्छ सबै थाहा हुन्छ नि भनि सोध्दा पीडितले भने, ‘हामी गाउँघरतिर बस्ने हामीलाई त्यति याद पनि भएन।’

विभागले उक्त म्यानपावरबाट तीन वटा सीपीयू, तीन वटा रजिष्टर, १२ वटा पासपोर्ट, ३७ थान व्यक्तिगत विवरणको कागजात आदि बरामद गरेको छ।  विभागको अनुगमन टोलीका प्रमुख खत्रीले बरामद गरिएका डकुमेन्टहरु र सीपीयू चेक गरिसकेपछि के के प्रमाण भेटिन्छ त्यहि अनुसार कारवाही हुने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *