सुदूरपश्चिम प्रदेशसभा बैठकः शान्ति सुव्यवस्था प्रभावकारी बनाउन ध्यानाकर्षण

डिसी नेपाल
२० फागुन २०७७ २२:३१

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले सो क्षेत्रका समसामयिक समस्या समाधानमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य भरतबहादुर खड्काले प्रचलित विधि र प्रक्रिया पूरा नगरी डोटीको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना सञ्चालन भइरहेको भन्दै योजना सञ्चालन कसरी र कहाँ सञ्चालन भइरहेको भन्ने विषयमा सदनलाई स्पष्ट जानकारी गराउन माग गरे । उनले विधि प्रक्रियाविपरीत र सदनलाई ‘बाइपास’ गरेर गरिने काम मान्य नहुने बताए । प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले कैलालीको गोदावरी नगरपालिकास्थित निर्माणाधीन गेटा मेडिकल कलेज नजिकै स्थानीय शिवचरण रानाको फागुन १५ गते हत्या भएको भन्दै हत्याराको खोजी गरी कारवाही गर्न र मृतकका परिवारलाई राहत दिन ध्यानाकर्षण गराए ।

अर्का प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले प्रदेशमा हत्या, हिंसा, बलात्कारका घटना बढ्दै गइरहे पनि यस्ता घटना हुन नदिनका लागि शान्तिसुरक्षाको व्यवस्था प्रभावकारी बनाउन माग गरे । बैठकमा प्रदेशसभा, सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको ‘सुदूरपश्चिम प्रदेशको बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *