रक्सी पसल किन्न २ महिलाको भिडन्त ! ७२ लाखबाट सुरु लिलामी ५ अर्ब १० करोड पुग्यो

डिसी नेपाल
२३ फागुन २०७७ १३:१३

काठमाडौं। एउटै परिवारका दुई महिलाले आ–आफ्नो रवाफ देखाउन खोज्दा ७२ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको रक्सी पसलको मूल्य लिलामीका क्रममा ५ अर्ब १० करोड रुपैयाँ पुगेको छ । भारतको राजस्थान सरकारले राज्यमा रक्सी पसल संचालनको लागि अनुमति दिने क्रममा पसलको स्वामित्वको लागि लिलामी गरिरहेको छ । यही क्रममा यो एउटा पसलको मूल्य विश्वासै गर्न नसकिने गरी बढेको हो ।

राजस्थानमा संचालन भएका रक्सी पसलहरुको स्वामित्वको लागि हरेक वर्ष सरकारले लिलामी गर्छ । यो लिलामीमा सबैभन्दा धेरै मूल्य तिर्न सक्ने व्यक्तिले एक वर्षको लागि उक्त रक्सी पसलको स्वामित्व पाउँछ । यही क्रममा हनुमानगढ जिल्लाको कुइयाँ गाउँको रक्सी पसलको लिलामीको क्रममा २ महिलाको प्रतिष्ठाको लडाइँ देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो पसलको लागि बिहान ११ बजे लिलामी सुरु भएको थियो । ७२ लाख रुपैयाँबाट सुरु भएको लिलामी रातको २ बजेसम्म चल्यो र मूल्य ५ अर्ब १० करोड रुपैयाँ पुग्यो ।

यो पसल गत वर्ष भने मात्रै ६५ लाख रुपैयाँमा बिक्री भएको बताइएको छ । आबकारी विभागले लिलामीमा सबैभन्दा धेरै मूल्य दिने महिला किरण कंवरलाई २ दिनभित्र आफू तिर्न राजी भएको रकमको २ प्रतिशत रकम बुझाउन भनिएको छ । यो २ प्रतिशत रकम मात्रै १० करोड २० लाख हुन आउँछ जुन अघिल्लो वर्ष पूरै पसलको मूल्य भन्दा १५ गुणा बढी हो । अधिकारीहरुलाई अझै पनि यो लिलामीमा विश्वास हुन सकिरहेको छैन । अधिकारीहरुले लिलामीको विजेताले पसल नकिनेमा उसलाई कालो सूचीमा राख्ने बताएका छन् ।

राजस्थानमा यसरी मदिरा पसल लिलामी गर्ने प्रणालीको विरोध पनि भइरहेको छ । ५ देखि १० लाख मूल्य पर्ने पसलहरु यसपटक ५ देखि १० करोडमा बिकेको स्थानीयले बताएका छन् । यहाँ पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गोलाप्रथाबाट पसलको अनुमति दिने प्रणाली लागू गरेकी थिइन् । तर, अशोक गहलोत मुख्यमन्त्री भएपछि उनले १५ वर्षदेखिको गोलाप्रथाको प्रणाली हटाएर लिलामीको प्रणाली लागू गरेका हुन् । यो लिलामीबाट सरकारले भने अरबौं रुपैयाँ राजश्व कमाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *