नेपाल र कतार सरकारबीच श्रम सम्झौताको तयारी

डिसी नेपाल
२४ फागुन २०७७ १७:२४

काठमाडौं। नेपाल र कतार सरकारबीच श्रम सम्झौता हुने भएको छ। वैदेशिक रोजगार बोर्डले आयोजना गरेको पूर्व प्रस्थान अभिमुखीकरण तालिमका लागि पुनर्ताजगी तालिमको समापन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशकंर चौधरीले यस्तो बताएका हुन्।

मन्त्री चौधरीले कतारमा अब हुने ओलम्पिकको लागि सुरक्षागार्ड र स्वयंसेवक आवश्यक पर्ने भएकाले जिटुजीमार्फत नेपालबाट आवश्यक श्रमिक कसरी लैजान सकिन्छ भनेर छलफल भइरहेको बताए। उनले भने, ‘नेपालबाट आवश्यक श्रमिक जिटुजीमार्फत कसरी पठाउन सकिन्छ र यसका लागि कसरी कार्यविधी संसोधन गर्न सकिन्छ भनेर छलफल गर्दैछौं।’

जिटुजीको लागि राजदूतसँग छलफलसमेत गरिसकेको मन्त्री चौधरीले बताएका छन्। उनले पुरानो श्रम सम्झौतासमेत संसोधन गर्न सकिने बताएका हुन्। छिटोभन्दा छिटो मन्त्रालयले बैठक डाकेर विज्ञसँग छलफल गर्ने तयारीमा रहेको उनको भनाइ छ।

नेपालमा नै स्वरोजगारको वातावरण बनाउनु पहिलो प्राथमिकता भएको भन्दै मन्त्री चौधरीले विदेश जानै पर्ने अवस्था आएमा कसरी सुरक्षित रुपमा पठाउन सकिन्छ भनेर तयारी गर्दै गरेको बताए। सो अवसरमा उनले श्रम सम्झौता भएका केही देशसँग श्रम सम्झौता संशोधन गर्नुपर्ने बेला आएको र मन्त्रालयले केही देशसँग भएको श्रम सम्झौता संशोधनको तयारी थालेको जानकारी गराए।

उता म्यानपावर व्यवसायीहरु भने सरकारले जिटुजी माध्यमबाट श्रमिक पठाउँदा असन्तुष्ट बन्ने गरेका छन्। त्यस्तै, सरकारले मलेसियालगायत खाडी मुलुकमा श्रमिक पठाउदा फ्रि भिसा फ्रि टिकटको व्यावस्था लागू गरेको छ, जसमा समेत व्यवसायी रुष्ट छन्।

मन्त्री चौधरीले फ्रि भिसा फ्रि टिकटअन्तर्गत १० हजार रुपैयाँ मात्र लिन पाउने नियम भएको तर म्यानपावरहरुले गैरकानुनी बाटोबाट तोकिएको भन्दा धेरै पैसा असुल्ने गरेको आरोप लगाए। उनले भने, ‘म्यानपावरले युवा ठगिरहेको छ, युवाहरुले सावधानी नअपनाउँदा यस्तो भएको हो।’ पढेलेखेका युवा नै ठगिएपछि मात्र मन्त्रालय र विभाग पुग्ने गरेको भन्दै उनले प्रमाणको अभावमा ठगिलाई कारवाही गर्नसमेत ठूलो चुनौती भएको बताए। कार्यक्रममा मन्त्री चौधरीले कुनै पनि हालतमा ठगी रोक्नु पर्नेमा जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *