दिक्तेलमा अन्तर क्लबस्तरीय फुटबल चैत ४ देखि

डिसी नेपाल
२८ फागुन २०७७ १३:१८

खोटाङ । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आगामी चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने जनाइएको छ । पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि चैत १ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइसक्नुपर्ने आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रतिसमूह रु २२ हजार २२२ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही रु पाँच हजार नगद ट्रफी तथा मेडल प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ‘म्यान अफ दी म्याच’लाई नगद रु एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *