विराट कोहलीले बनाए लाजमर्दो रेकर्ड

डिसी नेपाल
२९ फागुन २०७७ १३:३७

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले लाजमर्दो रेकर्ड बनाएका छन् । हिजो अहमदाबादमा भएको इङल्याण्डविरद्धको पहिलो टि–२० मा विराट शुन्यमा आउट भए । यससँगै उनी सबैभन्दा धेरै पटक शुन्यमा आउट हुने भारतीय कप्तान बने ।

हिजो विराट कोहली १४ औं पटक शुन्यमा आउट भए । उनले सौरभ गांगुलीलाई उछिने । गांगुली कप्तानको रुपमा १३ पटक शुन्यमा आउट भएका थिए । कप्तानको रुपमा महेन्द्र सिंह धोनी ११ पटक र कपिल देव १० पटक शुन्यमा आउट भएका थिए ।

कोहली आफ्ना पछिल्ला ५ अन्तर्राष्ट्रिय इनिङमा ३ पटक शुन्यमा आउट भएका छन् । यसअघि इङल्याण्डसँगको टेस्टमा पछिल्ला ४ इनिङमा उनको स्कोर ०, ६२, २७ र ० थियो । भारत हिजो इङल्याण्डसँग ८ विकेटले पराजित भयो । यो भारत आफ्नो होमग्राउण्ण्डमा ८ विकेटले हारेको दोस्रो पटक हो । यसअघि २००७ मा भारतले गुवाहाटीमा ८ विकेटले हारेको थियो । घरेलु मैदानमा भारतले योभन्दा ठूलो हारको सामना २०१९ मा बैंगलोरमा झेलेको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले हराएको थियो ।

हिजोको जीतसँग इङल्याण्ड विश्वमा एकमात्र यस्तो टिम बनेको छ जसको भारतविरुद्ध हारभन्दा जीत धेरै छ । यो भारत र इङल्याण्डको १५ औं टि–२० खेल थियो । यो खेल जितेपछि इङल्याण्डले भारतविरुद्ध ८ टि–२० जितेको छ । ७ खेल उसले हारेको छ । न्यूजिल्याण्ड र भारतबीच १६ खेल भएकामा न्यूजिल्याण्डले ८ खेल जितेको ६ हारेको र २ बराबरीमा राखेको थियो । तर, बराबरी भएका २ खेल भारतले सुपरओभरमा जितेपछि जीत हार बराबरी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *